

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्, अस्पताल तथा बोर्डमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।
पदाधिकारी सिफारिस समितिको निर्णयअनुसार नेपाल नर्सिङ परिषद्को अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार, स्वास्थ्य बिमा बोर्डको अध्यक्ष तथा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका उम्मेदवारहरूको मूल्याङ्कनपछि वर्णानुक्रममा नामावली सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।
सार्वजनिक सूचीअनुसार नेपाल नर्सिङ परिषद्को अध्यक्ष र रजिस्ट्रार पदका लागि सात–सात जना तथा उपाध्यक्ष पदका लागि पाँच जना उम्मेदवार छनोट भएका छन्। स्वास्थ्य बिमा बोर्डको अध्यक्षका लागि पाँच जना र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदका लागि सात जना उम्मेदवार सर्टलिस्टमा परेका छन्।
मन्त्रालयले छनोट भएका उम्मेदवारलाई आवश्यक कागजातको सक्कलसहित प्रस्तुतीकरण र अन्तर्वार्तामा उपस्थित हुन आग्रह गरेको छ। सिंहदरबारस्थित मन्त्रालयमा हुने अन्तर्वार्ता आगामी साउन १ गते स्वास्थ्य बिमा बोर्डको अध्यक्ष पदबाट सुरु हुनेछ।
त्यसपछि साउन ४ गते सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक, साउन ५ गते नेपाल नर्सिङ परिषद्को अध्यक्ष, साउन ६ गते उपाध्यक्ष र साउन ७ गते रजिस्ट्रार पदका उम्मेदवारहरूको अन्तर्वार्ता सञ्चालन हुने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले अन्य निकायका रिक्त पदहरूको छनोट प्रक्रिया सम्बन्धी विवरण पनि क्रमशः सार्वजनिक गर्दै जाने जनाएको छ।




