

काठमाडौं- शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयदेखि रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः सञ्चालनमा आएको छ। सेवा पुनः सुरु भएपछि गरिएको पहिलो कलेजो प्रत्यारोपण सफल भएको छ भने प्रत्यारोपण गराएकी काठमाडौंको असन निवासी गंगा श्रेष्ठ स्वस्थ भएर घर फर्किएकी छन्।
गत असार १९ गते कलेजो प्रत्यारोपण गरिएकी श्रेष्ठ प्रत्यारोपणको ११ औँ दिन असार २९ गते अस्पतालबाट डिस्चार्ज भएकी हुन्। उनलाई आधा कलेजो दान गरेका उनका देवर सञ्जय श्रेष्ठ भने प्रत्यारोपणपछि छैटौँ दिनमै घर फर्किएका थिए। कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहका अनुसार दाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य अवस्था अहिले सामान्य र सन्तोषजनक छ।
प्रत्यारोपणपछि दाता र ग्रहणकर्ता दुवैले आफ्नै देशमा अपेक्षाकृत न्यूनतम शुल्कमा यस्तो जटिल उपचार सेवा प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्। केन्द्रमा कलेजो प्रत्यारोपण १५ देखि २० लाख रुपैयाँभित्र सम्पन्न हुने भएकाले यो सेवा धेरै बिरामीका लागि पहुँचयोग्य बन्दै गएको अस्पतालले जनाएको छ।
यस सफल प्रत्यारोपणको नेतृत्व कलेजो प्रत्यारोपण विशेषज्ञ डा. रामबाबु साहले गरेका थिए। शल्यचिकित्सा, एनेस्थेसिया तथा क्रिटिकल केयर, रेडियोलोजी, कार्डियोलोजी, प्याथोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी, नर्सिङ, अपरेसन थिएटर व्यवस्थापन, फिजियोथेरापी, डाइटेटिक्स तथा प्रशासनिक व्यवस्थापनलगायत विभिन्न विभागका विशेषज्ञ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको संयुक्त प्रयासमा प्रत्यारोपण सम्पन्न भएको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार बहुविषयगत विशेषज्ञ टोलीको समन्वय र दक्षताका कारण जटिल कलेजो प्रत्यारोपण सेवा सफलतापूर्वक सञ्चालन हुन सकेको हो। सेवा पुनः सञ्चालनसँगै अब स्वदेशमै गुणस्तरीय र तुलनात्मक रूपमा कम लागतमा कलेजो प्रत्यारोपण सेवा उपलब्ध हुने विश्वास केन्द्रले व्यक्त गरेको छ।


