

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले देशको जलन (बर्न) उपचार प्रणाली प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले बर्न वार्ड विस्तारको घोषणा मात्रै पर्याप्त नहुने भन्दै दक्ष जनशक्ति, उपकरण र उपचार प्रणाली सुदृढ गर्न जोड दिइन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले प्रधानमन्त्री कार्यालयले विभिन्न अस्पतालमा बर्न वार्ड पूर्ण रूपमा सञ्चालन गर्न निर्देशन दिएको भनिए पनि सम्बन्धित निकायहरूले औपचारिक जानकारी नपाएको उल्लेख गरिन्। यदि त्यस्तो निर्णय भएको हो भने सार्वजनिक गर्न र नभएको भए भ्रम चिर्न सरकारसँग आग्रह गरिन्।
उनले कीर्तिपुर बर्न अस्पताललाई राष्ट्रिय बर्न प्रशिक्षण केन्द्रका रूपमा विकास गरी देशभरका स्वास्थ्यकर्मीलाई कम्तीमा एक वर्ष वा तत्कालका लागि एक महिनाको विशेष जलन उपचार तालिम सञ्चालन गर्नुपर्ने प्रस्ताव राखिन्। प्रदेश अस्पतालहरू पूर्ण रूपमा सक्षम नहुँदासम्म देशभरका जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा निःशुल्क र छिटो रिफर गर्ने राष्ट्रिय संयन्त्र निर्माण गर्न पनि उनले माग गरिन्।
सांसद ओलीले कीर्तिपुर बर्न अस्पतालका लागि विनियोजित ८ करोड रुपैयाँ अघिल्लो सरकारकै पालादेखि रोक्का रहेको उल्लेख गर्दै उक्त बजेट तत्काल निकासा गर्न सरकारसँग आग्रह गरिन्।
उनले नेपालका १८ वटा अस्पतालमा बर्न वार्ड रहे पनि भवन र शय्या मात्रले प्रभावकारी उपचार सुनिश्चित नहुने बताइन्। दक्ष प्लास्टिक सर्जन, प्रशिक्षित नर्स, आवश्यक उपकरण तथा विशेषज्ञ जनशक्तिको अभावमा बर्न वार्डले अपेक्षित सेवा दिन नसक्ने उनको भनाइ थियो।
कीर्तिपुर बर्न अस्पतालको स्थलगत अवलोकन तथा सरोकारवालासँगको छलफलपछि आफू यस्तो निष्कर्षमा पुगेको उल्लेख गर्दै ओलीले नेपालमा बर्न वार्ड थप्नेभन्दा पनि समग्र बर्न उपचार प्रणाली सुधार गर्नु अहिलेको मुख्य आवश्यकता भएको बताइन्।


