

काठमाडौं- नेपालमा जलन (बर्न) अझै पनि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेको भन्दै विशेषज्ञहरूले समयमै प्राथमिक उपचार र विशेषज्ञ सेवा विस्तारमा जोड दिएका छन्। पछिल्लो समय आत्मदाहका घटनासँगै जलनका कारण हुने मृत्यु बढिरहेका बेला उपचार प्रणाली सुदृढ गर्नुपर्ने आवश्यकता झन् बढेको उनीहरूको भनाइ छ।
कीर्तिपुर बर्न अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख एवं वरिष्ठ प्लास्टिक सर्जन डा. विशाल कार्कीका अनुसार अस्पतालमा सबैभन्दा धेरै आगोले पोलेका बिरामी आउने गर्छन्। त्यसपछि तातो तेल, पानी वा दूधले पोलेका, करेन्ट लागेका, एसिड तथा रसायनका कारण जलेका र चट्याङबाट घाइते भएका बिरामी उपचारका लागि आउने गरेका छन्।
उनले जलनपछि पहिलो २० देखि ३० मिनेटसम्म पोलेको भागमा बगिरहेको चिसो पानी राख्नु नै सबैभन्दा प्रभावकारी प्राथमिक उपचार भएको बताए। यसले घाउ गहिरो हुन नदिई संक्रमणको जोखिम घटाउने र धेरै अवस्थामा शल्यक्रिया नै नगरी ड्रेसिङबाट उपचार सम्भव हुने उनको भनाइ छ।
डा. कार्कीका अनुसार शरीरको कति भाग जलेको छ भन्ने मापनलाई ‘टोटल बर्न सर्फेस एरिया (TBSA)’ भनिन्छ। वयस्कमा २० प्रतिशतभन्दा बढी र बालबालिकामा १० प्रतिशतभन्दा बढी शरीर जलेको अवस्था ‘मेजर बर्न’ मानिन्छ। यस्तो अवस्थामा छालामात्र नभई मुटु, मिर्गौला र फोक्सोजस्ता भित्री अङ्गमा समेत असर पर्ने भएकाले विशेष उपचार आवश्यक हुन्छ।
उनले काठमाडौं बाहिर जलन उपचार सेवा विस्तार भए पनि विशेषज्ञ चिकित्सकको अभाव रहेको स्वीकार गर्दै प्रारम्भिक उपचारमा सुधार ल्याउन देशभरका अस्पतालका स्वास्थ्यकर्मीलाई तालिम दिइरहेको जानकारी दिए। उनका अनुसार गम्भीर जलन भएका बिरामीलाई तुरुन्त काठमाडौं पठाउनुभन्दा सुरुका २४ घण्टामा आवश्यक सलाइन र प्राथमिक उपचार उपलब्ध गराउनु नै जीवन बचाउने महत्वपूर्ण चरण हो।
उपचार प्रक्रिया जलनको गम्भीरताअनुसार फरक हुने डा. कार्कीले बताए। सामान्य जलन ड्रेसिङबाट निको पार्न सकिने भए पनि गहिरो जलन वा धुवाँ फोक्सोमा पुगेको अवस्थामा आईसीयू र शल्यक्रियासहित छाला प्रत्यारोपण गर्नुपर्ने अवस्था आउने उनले स्पष्ट पारे।


