

काठमाडौं- सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएको छ।
शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका मण्डललाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका मेडिकल डाइरेक्टर डा. किरण नकर्मीका अनुसार उनको सोमबार बिहान २ः०५ बजे उपचारकै क्रममा मृत्यु भएको हो।
अस्पतालका अनुसार मण्डलको शरीरको करिब ८५ प्रतिशत भाग जलेको थियो। उनलाई शुक्रबार साँझ साढे ७ बजे अस्पताल पुर्याएर आईसीयूमा राखी उपचार गरिएको थियो।
प्रहरीका अनुसार मण्डलले घरबाट करिब २०० मिटर टाढा पुगेर आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए। घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
यसअघि बिहीबार मुगुका गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका थिए। उनको पनि उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो। यस्तै शनिबार काठमाडौंको बुद्धनगरमा पनि एक जनाले आत्मदाह गरेका थिए।


