

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा आधुनिक र सुविधासम्पन्न जलन (बर्न) उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन सरकारका सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा उनले प्रमुख सरकारी अस्पतालका बर्न वार्डलाई थप सुदृढ बनाउन आवश्यक योजना कार्यान्वयन गर्न पनि जोड दिए।
प्रधानमन्त्री शाहले गम्भीर जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने वातावरण सुनिश्चित गर्न सङ्घ, प्रदेश सरकार र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
उनले नागरिकमैत्री र गुणस्तरीय स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालको सरसफाइ, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको व्यापक प्रयोग तथा सुशासनको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन निर्देशन दिए।
त्यसैगरी आर्थिक रूपमा विपन्न, असहाय र कमजोर वर्गका नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन निजी अस्पतालले आफ्नो बहिरङ्ग (ओपिडी) सेवाको कम्तीमा १० प्रतिशत सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थालाई प्रभावकारी रूपमा लागू गर्न पनि उनले आग्रह गरे।
प्रधानमन्त्री शाहले एउटा स्वास्थ्य संस्थाले अपनाएका सफल अभ्यास अन्य संस्थामा पनि विस्तार गर्नुपर्नेमा जोड दिँदै प्रतिष्ठानका नाममा रहेका जग्गा अतिक्रमणका समस्या सम्बन्धित निकायसँग समन्वय गरेर कानुनी प्रक्रियाअनुसार समाधान गरिने बताए।
छलफलका क्रममा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर सुधार, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवर्द्धन, पूर्वाधार विकास तथा स्वास्थ्य सेवाको डिजिटल रूपान्तरणका विषयमा आफ्ना सुझाव प्रस्तुत गरेका थिए। साथै अस्पताल सूचना व्यवस्थापन प्रणाली प्रभावकारी बनाउने र प्रतिष्ठानको जग्गा अतिक्रमणले संस्थागत विकासमा पारेको असरबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।


