

काठमाडौं – राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मानसिक रूपमा अत्यधिक निराशा, तनाव वा आत्महत्यासम्बन्धी सोच आएमा निःशुल्क हटलाइन ११६६ मा सम्पर्क गरी मनोपरामर्श सेवा लिन सबैमा आग्रह गरेको छ।
केन्द्रले सार्वजनिक गरेको जनचेतनामूलक सूचनामा जुनसुकै समयमा ११६६ नम्बरमा फोन गरेर गोप्य तथा निःशुल्क रूपमा प्रशिक्षित मनोपरामर्शकर्तासँग परामर्श लिन सकिने उल्लेख गरिएको छ।
केन्द्रका अनुसार मानसिक तनाव वा कठिन परिस्थितिमा एक्लै संघर्ष गर्नुको सट्टा समयमै विशेषज्ञसँग परामर्श लिनु प्रभावकारी उपाय हो। साथै, समस्या समाधानका लागि परिवार, साथीभाइ तथा सम्बन्धित निकायको सहयोग लिन पनि आग्रह गरिएको छ।
जनचेतनामूलक सन्देशमार्फत ‘अँध्यारा दिन सधैंका हुँदैनन्’ भन्दै धैर्य कायम राख्न, समस्याको समाधान खोज्न र जीवनप्रति सकारात्मक दृष्टिकोण अपनाउन केन्द्रले सबैलाई अनुरोध गरेको छ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मानसिक स्वास्थ्य समस्या भएका तथा आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई समयमै सहयोग उपलब्ध गराउने उद्देश्यले निःशुल्क हटलाइन सेवा सञ्चालन गर्दै आएको जनाएको छ।
केन्द्रले मानसिक स्वास्थ्यसम्बन्धी समस्या लुकाएर नबस्न र आवश्यक परेमा तत्काल परामर्श सेवा लिन सबैमा अपिल गरेको छ।


