

काठमाडौं- काठमाडौँ क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक अत्याधुनिक कार टी–सेल थेरापी सेवा सुरु गर्ने घोषणा गरेको छ। सेन्टरका अनुसार केही दिनभित्रै रक्तजन्य क्यान्सर (ल्युकेमिया र लिम्फोमा) भएका दुई जना बिरामीमा यो उपचार विधि लागू गर्ने तयारी गरिएको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा सेन्टरका अध्यक्ष डा. अञ्जनीकुमार झाले नेपालकै सेन्टर फर रिजेनरेटिभ मेडिसिन (सीआरएम) नेपाल ले उत्पादन गरेको कार टी–सेल प्रयोग गरेर उपचार गरिने जानकारी दिए। उनका अनुसार यो सेवा सुरु भएसँगै उपचारका लागि विदेश जानुपर्ने नेपाली बिरामीको संख्या घट्ने अपेक्षा गरिएको छ।
कार टी–सेल थेरापी शरीरकै प्रतिरक्षा प्रणालीलाई प्रयोग गरेर क्यान्सरविरुद्ध लड्ने अत्याधुनिक इम्युनोथेरापी हो। यसमा बिरामीको शरीरबाट टी–सेल निकालेर प्रयोगशालामा आनुवंशिक रूपमा परिमार्जन गरिन्छ। त्यसपछि क्यान्सरका कोशिकालाई पहिचान गर्न सक्ने बनाइएका ती टी–सेललाई पुनः बिरामीकै शरीरमा प्रत्यारोपण गरिन्छ, जसले क्यान्सरका कोशिकामाथि प्रत्यक्ष आक्रमण गर्छ।
सेन्टरका प्रमुख डा. सिमित सापकोटाका अनुसार उपचारका लागि योग्य ठहरिएका बिरामीबाट टी–सेल संकलन गरी सीआरएम नेपालको प्रयोगशालामा विशेष जीन प्रविधिबाट परिमार्जन गरिन्छ। त्यसपछि ती कोशिकालाई ठूलो संख्यामा वृद्धि गरी बिरामीमा प्रत्यारोपण गरिनेछ। उपचारपछि बिरामीलाई करिब दुईदेखि तीन सातासम्म अस्पतालमै निगरानीमा राखिने व्यवस्था गरिएको छ।
डा. झाले कार टी–सेल थेरापी अहिले विश्वका करिब ३५ देशमा प्रयोग भइरहेको उल्लेख गर्दै नेपालमा यसको सुरुवात हुनु क्यान्सर उपचारको क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको बताए। उनले नेपाल कार टी–सेल उत्पादन गर्ने सीमित मुलुकमध्ये एक भएको दाबी पनि गरे। यो सेवा सञ्चालनका लागि भारत र जर्मनीका विशेषज्ञ टोलीसँग सहकार्य गरिएको उनले जानकारी दिए।
सेन्टरका अनुसार एक बिरामीको कार टी–सेल उपचारका लागि करिब ४५ लाख रुपैयाँ खर्च लाग्नेछ। यो लागत भारतको तुलनामा कम रहेको दाबी गरिएको छ।
यसैबीच, काठमाडौँ क्यान्सर सेन्टरले नेपालमै बोन म्यारो ट्रान्सप्लान्ट (बीएमटी) सेवा सुरु गर्ने तयारी पनि अघि बढाएको जनाएको छ। यो सेवा सञ्चालनमा आएपछि बोन म्यारो तथा रक्तसम्बन्धी जटिल रोगका बिरामीले उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम हुने विश्वास सेन्टरको छ।
सेन्टरले क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउन अत्याधुनिक स्टेरियोट्याक्टिक लिन्याक मेसिन पनि जडान गरेको जनाएको छ। यसबाट उच्च सटीकता र सुरक्षित रेडियोथेरापी सेवा प्रदान गर्न सकिने बताइएको छ।
त्यसैगरी, क्यान्सर बिरामीको जीवनस्तर सुधार, पीडा व्यवस्थापन तथा प्यालियाटिभ केयरलाई सुदृढ बनाउन अन्तर्राष्ट्रिय सहकार्यमा पेन तथा प्यालियाटिभ केयर रिसर्च कार्यक्रम पनि सुरु गरिएको छ। यसका लागि बेलायतको किङ्स कलेज र जापानका विश्वविद्यालयहरूसँग सहकार्य भइरहेको मेडिकल अङ्कोलोजिस्ट डा. सुवास पण्डितले जानकारी दिए।
वि.सं. २०७३ मा भक्तपुरको ताथलीमा स्थापना भएको काठमाडौँ क्यान्सर सेन्टरले हाल रेडिएसन अङ्कोलोजी, मेडिकल अङ्कोलोजी, केमोथेरापी, टार्गेटेड थेरापी, इम्युनोथेरापी, विभिन्न प्रकारका क्यान्सर शल्यक्रिया, मोलिकुलर डायग्नोस्टिक्स, सीटी स्क्यान, रेडियोलोजी, आईसीयू तथा प्यालियाटिभ केयरलगायतका सेवा प्रदान गर्दै आएको जनाएको छ।


