

काठमाडौं – विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री तथा प्रतिष्ठानकी सहकुलपति निशा मेहताले नवनियुक्त उपकुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।
प्रधानमन्त्री तथा सम्बन्धित प्रतिष्ठानका कुलपति बालेन्द्र शाहले बिहीबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नवीस मान सिंह प्रधान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. स्मृति कार्कीलाई उपकुलपति नियुक्त गरेका थिए।
यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नारायण सिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूर्यमान मेन्याङ्बो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. अजय कुमार मिश्र उपकुलपतिमा नियुक्त भएका छन्।
नेपाल सरकारले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उनीहरूको नियुक्ति गरिएको हो।


