

काठमाडौं- दुर्गम हिमाली गाउँसम्म स्वास्थ्यकर्मीले दिनौँ पैदल हिँडेर खोप पुर्याइरहेका बेला नेपालका ठूला सहर र महानगरमा भने नियमित खोप कार्यक्रमको पहुँच र स्वीकार्यता कमजोर देखिएको छ। विज्ञहरूले अस्थायी बसोबास, बसाइँसराइ, जनघनत्व र जनचेतनाको कमीका कारण सहरी क्षेत्रमा खोप अभियान चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।
गत चैतमा डोल्पा जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरू पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लिएर चार दिन पैदल यात्रा गर्दै उपल्लो डोल्पाको छार्का भोट पुगेका थिए। समुद्री सतहबाट ४,३५० मिटर उचाइमा रहेको उक्त बस्ती पुग्न टोलीले ५ हजार मिटरभन्दा अग्ला भञ्ज्याङ पार गर्दै दैनिक करिब १४ घण्टा हिँड्नुपरेको थियो।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार कठिन भूगोल र प्रतिकूल मौसमका बाबजुद पनि लक्षित सबै किशोरीलाई एचपीभी खोप लगाउन सफल भएको बताए। स्थानीय समुदायको सक्रिय सहयोगका कारण अभियान प्रभावकारी बनेको उनको भनाइ छ।
दुर्गम क्षेत्रमा खोपप्रति उच्च विश्वास देखिए पनि महानगर र ठूला सहरमा भने अवस्था फरक छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा गाउँपालिकामा पूर्ण खोप प्राप्त गर्ने बालबालिकाको औसत दर ९५ प्रतिशत रहेको थियो भने महानगरपालिकामा यो दर ६४ प्रतिशतमा सीमित रह्यो।
देशभर पूर्ण खोप प्राप्त गर्ने दर पनि घट्दो क्रममा देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा ९६ प्रतिशत रहेको पूर्ण खोप दर आर्थिक वर्ष २०८१/८२ मा घटेर ९२ प्रतिशतमा पुगेको सरकारी तथ्यांकले देखाएको छ।
डा. गौतमका अनुसार सहरी क्षेत्रमा सबै बालबालिका खोपबाट वञ्चित भएका होइनन्, तर नियमित तालिकाअनुसार सबै मात्रा पूरा गर्ने दर ग्रामीण क्षेत्रको तुलनामा निकै कम छ।
नेपाल सरकारले नियमित खोप कार्यक्रममार्फत दादुरा–रुबेला, क्षयरोग, निमोनिया, डिप्थेरिया, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, रोटाभाइरस, जापानी इन्सेफ्लाइटिस, टाइफाइड तथा एचपीभीसहित १४ प्रकारका खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ।
खोप विज्ञ तथा स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. श्यामराज उप्रेतीले सरकारी तथ्यांकले सहरी क्षेत्रको वास्तविक जनसंख्या समेट्न नसकेको बताए। उनका अनुसार सहरमा अस्थायी बसोबास गर्ने, बसाइँसराइ गर्ने, सुकुम्बासी बस्तीमा बस्ने र श्रमिक वर्गका धेरै परिवार सरकारी अभिलेखभन्दा बाहिर रहने भएकाले खोपबाट छुट्ने बालबालिकाको संख्या अझ बढी हुन सक्छ।
विज्ञहरूका अनुसार सहरी क्षेत्रमा नियमित खोप कार्यक्रम प्रभावकारी बनाउन उच्च जोखिम समूह पहिचान गरी सूक्ष्म योजना (माइक्रोप्लान) लागू गर्न आवश्यक छ। खोपको पहुँच सुधार्न नसके दादुरालगायत खोपबाट रोक्न सकिने रोगको प्रकोप सहरमा बढ्न सक्ने चेतावनी उनीहरूले दिएका छन्।
यसैबीच, सन् २०२६ को सुरुवातदेखि देशका विभिन्न जिल्लामा दादुराको संक्रमण फैलिएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार अधिकांश संक्रमित विगतमा नियमित खोप नलगाएका तथा सीमान्तकृत समुदायका व्यक्ति रहेका छन्।


