

काठमाडौं- मनसुन सुरु भएसँगै नेपालमा डेँगी, हैजा, झाडापखाला, स्क्रब टाइफस र औलोजस्ता प्रकोपजन्य रोगको जोखिम बढेको छ। यद्यपि पछिल्ला तीन वर्षयता डेँगी संक्रमण उल्लेखनीय रूपमा घट्दै गएको सरकारी तथ्यांकले देखाए पनि स्वास्थ्य अधिकारीहरूले जोखिम अझै कायम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सरकारी निकाय, स्थानीय तह, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम र समुदायको संयुक्त प्रयासका कारण डेँगी नियन्त्रणमा सकारात्मक परिणाम देखिएको हो।
ईडीसीडीको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार सन् २०२५ मा डेँगी संक्रमण सन् २०२४ को तुलनामा करिब ६५ प्रतिशतले घटेको थियो। चालु वर्ष २०२६ को हालसम्मको तथ्यांकले संक्रमणमा थप करिब ५० प्रतिशत कमी आएको देखाएको छ।
उनका अनुसार अधिकांश जिल्लामा डेँगी संक्रमण देखिए पनि यसको दर घट्दै जानु सकारात्मक संकेत हो। तर मनसुन लामखुट्टे प्रजननका लागि अनुकूल मौसम भएकाले अहिले नै ढुक्क हुने अवस्था नरहेको उनले बताए।
डेँगी एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यी लामखुट्टेले सफा र जमेको पानीमा प्रजनन गर्ने भएकाले घर वरिपरि रहेका गमला, टायर, पानीका ट्यांकी, बाल्टिन, कुलर तथा अन्य भाँडामा जमेको पानी संक्रमण फैलाउने प्रमुख स्रोत मानिन्छ।
डेँगी लागेमा उच्च ज्वरो, टाउको तथा आँखाको पछाडिको भाग दुख्ने, शरीर र जोर्नी दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, छालामा रातो बिमिरा देखिने र अत्यधिक कमजोरी महसुस हुने लक्षण देखिन सक्छ। गम्भीर अवस्थामा रगत बग्ने, सास फेर्न गाह्रो हुने, पेट अत्यधिक दुख्ने वा रक्तचाप घट्ने समस्या देखिए तत्काल अस्पताल जान चिकित्सकहरूले सुझाव दिएका छन्।
डा. दाहालका अनुसार पछिल्ला वर्षमा समुदायकेन्द्रित अभियान, स्थानीय तहको सक्रियता, विद्यालयमार्फत जनचेतना र ‘खोज तथा नष्ट’ अभियान प्रभावकारी बनेका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको हो।
प्रदेशगत तथ्यांकअनुसार सबैभन्दा धेरै संक्रमित कोशी प्रदेशमा २९२ जना रहेका छन्। त्यसपछि बागमतीमा २६४, लुम्बिनीमा १६७, गण्डकीमा १६१, सुदूरपश्चिममा ६९, मधेशमा ५२ र सबैभन्दा कम कर्णालीमा ३७ जना संक्रमित पुष्टि भएका छन्।
ईडीसीडीले गत वर्ष ३३४ स्थानीय तहमा लामखुट्टे खोज तथा नष्ट अभियान सञ्चालन गरेको थियो। यस वर्ष पनि साउन महिनालाई ‘डेँगी सचेतना महिना’का रूपमा मनाउँदै साउनदेखि कात्तिकसम्म विशेष निगरानी, जनचेतना र समुदायस्तरीय अभियान सञ्चालन गरिने जनाएको छ।
विभागका अनुसार डेँगीबाट हुने मृत्युदर पनि घट्दो क्रममा छ। सन् २०२२ मा ८८ जनाको मृत्यु भएकोमा २०२३ मा २०, २०२४ मा १५, २०२५ मा ६ र चालु वर्ष हालसम्म दुई जनाको मात्रै मृत्यु भएको छ।
स्वास्थ्य अधिकारीहरूले संक्रमण घटेको भए पनि मनसुनको समयमा सतर्कता नघटाउन, घर वरिपरि पानी जम्न नदिन र लामखुट्टेको प्रजननस्थल नष्ट गर्न सबैलाई आग्रह गरेका छन्।


