

कैलाली- सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको टीकापुर अस्पतालमा दुई कर्मचारीबीच भएको विवाद कुटाकुटमा परिणत भएको छ। घटनामा अस्पतालका प्रयोगशाला इञ्चार्ज उमेश बजगाईमाथि फिजियोथेरापिस्ट अनिल तिवारीले हातपात गरेको आरोप लागेको छ।
घटना मंगलबार दिउँसो करिब २ बजे अस्पताल प्रशासन शाखा परिसरमा भएको हो। प्रयोगशाला इञ्चार्ज बजगाईका अनुसार आफू कार्यालयसम्बन्धी कामका लागि प्रशासन शाखामा पुगेका बेला तिवारीले अचानक आक्रमण गरेका थिए।
‘म प्रशासनमा कामका लागि गएको थिएँ। त्यही बेला उहाँ आएर ममाथि कुटपिट गर्नुभयो,’ बजगाईले भने। उनले घटनाबारे अस्पताल प्रशासनमा लिखित निवेदन दिँदै आवश्यक कारबाहीको माग गरेका छन्।
यता, फिजियोथेरापिस्ट तिवारीले भने प्रयोगशालामा भइरहेको भनिएको अनियमितताबारे प्रशासनसँग छलफल गर्न गएका बेला बजगाईले गाली–गलौज गरेपछि आफूले प्रतिक्रिया जनाएको दाबी गरेका छन्।
उनले विदाको दिन पनि प्रयोगशाला सञ्चालन भएको देखाएर भत्ता लिने, रिएजेन्ट महँगो मूल्यमा खरिद गर्ने लगायतका अनियमितता भएको आरोप लगाउँदै त्यसबारे सम्बन्धित निकायलाई जानकारी गराएको बताएका छन्।
घटनापछि अस्पताल प्रशासनले प्राप्त निवेदनका आधारमा सीसीटीभी फुटेजसहित आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय टीकापुरलाई पत्राचार गरेको जनाएको छ।
अस्पताल स्रोतका अनुसार सीसीटीभी फुटेजमा तिवारी दौडिएर आएर बजगाईमाथि हातपात गरेको देखिन्छ। त्यसक्रममा बजगाईले पनि प्रतिरक्षास्वरूप तिवारीलाई खुट्टाले प्रहार गरेको दृश्य कैद भएको छ। त्यसपछि अन्य कर्मचारीले हस्तक्षेप गरी दुवैलाई छुट्याएका थिए।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।


