

काठमाडौं – नेपाल मेडिकल काउन्सिलले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका स्वास्थ्य संस्थामाथि कडा अनुगमन गरी आवश्यक कारबाही गर्न सम्बन्धित सबै निकायलाई निर्देशनात्मक आग्रह गरेको छ।
निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेद्वारा जारी पत्रमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेशका स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा सबै स्थानीय तहलाई सक्रिय अनुगमन गर्न अनुरोध गरिएको हो।
काउन्सिलका अनुसार प्राप्त उजुरी, गुनासा, सूचना तथा स्थलगत अनुगमनका क्रममा देशभरका धेरै स्वास्थ्य संस्था कानुनबमोजिम सञ्चालन अनुमति नलिई सञ्चालन भइरहेको पाइएको छ। यस्तै, अनुमति प्राप्त केही संस्थामा समेत तोकिएको न्यूनतम भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा दर्तावाला योग्य स्वास्थ्यकर्मीको अभाव देखिएको उल्लेख गरिएको छ।
काउन्सिलले सञ्चालन अनुमति नलिई सञ्चालित स्वास्थ्य संस्थाको तत्काल पहिचान गरी बन्द गर्न वा प्रचलित कानुनअनुसार कारबाही गर्न आग्रह गरेको छ। साथै, अनुमति प्राप्त भए पनि न्यूनतम मापदण्ड पूरा नगरेका संस्थालाई सुधारका लागि निर्देशन दिई सुधार नभए कानुनी कारबाही अघि बढाउन पनि अनुरोध गरिएको छ।
नागरिकको स्वास्थ्य अधिकार, बिरामीको सुरक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय र प्राविधिक सहकार्य गर्न नेपाल मेडिकल काउन्सिल प्रतिबद्ध रहेको पत्रमा उल्लेख छ।


