

काठमाडौं– नेपालमा औषधि आयात गर्ने विदेशी औषधि उत्पादन कम्पनीहरूको स्थलगत निरीक्षण (अडिट) विगत तीन वर्षदेखि रोकिएको छ। औषधि व्यवस्था विभागमा करिब ३५० विदेशी औषधि कम्पनी दर्ता रहे पनि गुणस्तर सुनिश्चित गर्ने अनिवार्य निरीक्षण हुन नसक्दा अत्यावश्यक औषधि र खोपको आपूर्तिमा असर पर्ने चिन्ता बढेको छ।
विभागले हरेक वर्ष विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (GMP) मापदण्डअनुसार विदेशी औषधि उद्योगको निरीक्षण गर्दै आएको थियो। सोही प्रक्रियाबाट एचपीभी, यलो फिभर, एन्टी स्नेक भेनम, क्रिटिकल केयरका जीवनरक्षक औषधिलगायतका उत्पादन आयातको अनुमति दिने गरिन्थ्यो। तर पछिल्ला तीन वर्षदेखि यो प्रक्रिया रोकिएको छ।
औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीका अनुसार निरीक्षण वार्षिक कार्यक्रममै समावेश भए पनि आवश्यक स्वीकृति नपाउँदा कार्यान्वयन हुन सकेको छैन। उनले निरीक्षणका लागि मन्त्रालयमा फाइल पठाइए पनि निर्णय नआएको बताइन्। विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले पनि तीन वर्षदेखि विदेशी औषधि कम्पनीको अडिट हुन नसकेको पुष्टि गरेका छन्।
हाल रेविजविरुद्धको खोप, क्यान्सर उपचारमा प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिनलगायत केही जीवनरक्षक औषधिको अभाव देखिएको छ। अधिकांश यस्ता औषधि भारतबाट आयात हुने भए पनि नियमित निरीक्षण रोकिएपछि कतिपय औषधि विशेष सिफारिसका आधारमा भित्रिने गरेको र बिरामी स्वयं भारत पुगेर औषधि ल्याउनुपर्ने अवस्था सिर्जना भएको बताइएको छ।
औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले विदेशी औषधि कम्पनीको निरीक्षण तत्काल पुनः सुरु गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनका अनुसार चार वर्षदेखि प्रक्रिया प्रभावकारी रूपमा अघि नबढ्दा नागरिकले खोप र जीवनरक्षक औषधिको अभाव भोग्नुपरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले औषधिको गुणस्तर सुनिश्चित गर्न नियमित निरीक्षण आवश्यक रहेको बताउँदै राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता सुदृढीकरण र अन्तर्राष्ट्रिय विज्ञहरूसँगको सहकार्य जारी रहेको जानकारी दिए।
नेपालमा विदेशी औषधि दर्ता र आयातका लागि डब्लुएचओको GMP मापदण्डअनुसार प्राविधिक टोलीले उद्योगको निरीक्षण गरी उपयुक्त ठहर गरेपछि मात्रै अनुमति दिने कानुनी व्यवस्था छ। विभागले पछिल्लोपटक २०७९ सालमा विदेशी औषधि उद्योगको अडिट गरेको थियो।


