

काठमाडौं – सामाजिक सञ्जाल र विभिन्न माध्यममा हान्टाभाइरस सम्बन्धी अफवाह फैलिन थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट पारेको छ। मन्त्रालयले अपुष्ट सूचना र भ्रमपूर्ण सामग्रीको पछि नलाग्न तथा आधिकारिक स्रोतबाट जारी हुने जानकारीमा मात्र विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा हान्टाभाइरसको सामुदायिक संक्रमण वा प्रकोप देखिएको छैन। साथै, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि हान्टाभाइरससँग सम्बन्धित कुनै घटनाले सार्वजनिक स्वास्थ्यमा जोखिम सिर्जना गरेको जानकारी नदिएको जनाएको छ।
मन्त्रालयले पछिल्लो समय सामाजिक सञ्जालमा फैलाइएका अपुष्ट सूचना, अफवाह र भ्रमपूर्ण सामग्रीले नागरिकमा अनावश्यक त्रास सिर्जना गर्न सक्ने भएकाले त्यस्ता सामग्रीको पछि नलाग्न आग्रह गरेको हो। स्वास्थ्यसम्बन्धी जानकारीका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा अन्य आधिकारिक र विश्वसनीय निकायबाट जारी गरिएका सूचनामात्र विश्वास गर्न अनुरोध गरिएको छ।
स्वास्थ्य अधिकारीहरूले गलत सूचना फैलाउने, शेयर गर्ने वा त्यसलाई बढावा दिने कार्य गैरजिम्मेवारपूर्ण हुने उल्लेख गर्दै सूचना आदानप्रदान गर्दा सचेत र जिम्मेवार बन्न सबैलाई अपिल गरेका छन्।
मन्त्रालयले भविष्यमा कुनै नयाँ स्वास्थ्य जोखिम देखा परेमा आधिकारिक माध्यममार्फत समयमै जानकारी गराइने पनि स्पष्ट पारेको छ।


