

काठमाडौं – नेपाल रेडियोलोजिष्ट एसोसिएसनले दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी तथा इमेजिङ सेवा प्रदान गर्न पाउने कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ।
एसोसिएसनका अध्यक्ष डा. तेजेन्द्र कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल मेडिकल काउन्सिल ऐन, प्रचलित कानुन तथा निर्धारित मापदण्डअनुसार विधिवत् दर्ता भएका चिकित्सकहरूले मात्र आधुनिक चिकित्सा तथा रेडियोलोजीसम्बन्धी सेवा प्रदान गर्न पाउने स्पष्ट व्यवस्था रहेको उल्लेख गरिएको छ।
एसोसिएसनले उक्त कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्दै गैरकानुनी चिकित्सकीय अभ्यासविरुद्धको अभियानलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।
विज्ञप्तिमा विशेषगरी रेडियोलोजी तथा इमेजिङ सेवा अत्यन्त संवेदनशील स्वास्थ्य सेवा भएकाले आवश्यक शैक्षिक योग्यता, तालिम तथा कानुनी अनुमति बिना सेवा प्रदान गर्ने, चिकित्सकीय प्रतिवेदन तयार गर्ने वा बिरामीलाई भ्रमित पार्ने गतिविधिले बिरामीको स्वास्थ्य र सुरक्षामाथि गम्भीर जोखिम उत्पन्न गर्न सक्ने चेतावनी दिइएको छ।
एसोसिएसनले स्वास्थ्य सेवाको गुणस्तर, बिरामीको सुरक्षा तथा कानुनी शासन सुनिश्चित गर्न सम्बन्धित निकायले विद्यमान कानुनी व्यवस्थाको कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।



