

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पदभार ग्रहण गरेको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले यस अवधिमा गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेकी छन्। शनिबार आयोजित कार्यक्रममा उनले स्वास्थ्य सेवालाई नागरिकमैत्री, सहज, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यले मन्त्रालयले अघि बढाएका नीतिगत तथा सेवामुखी सुधारहरूको विस्तृत विवरण प्रस्तुत गरेकी हुन्।
मन्त्री मेहताका अनुसार १०० दिनको अवधिमा स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार, सेवा प्रवाह, पूर्वाधार विकास, स्वास्थ्य बिमा, जनशक्ति व्यवस्थापन, मानसिक स्वास्थ्य तथा औषधि व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ।
मन्त्रालयले नागरिकलाई अस्पतालमा उपलब्ध शय्याबारे सहज जानकारी उपलब्ध गराउने उद्देश्यले ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएको छ। हालसम्म २१७ वटा अस्पताल उक्त प्रणालीमा आबद्ध भइसकेका छन् भने तीन हजार २५५ वटा निःशुल्क शय्याको विवरण प्रणालीमा समावेश गरिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य सेवामा डिजिटल प्रणाली विस्तार गर्दै बिरामीको स्वास्थ्य विवरण तथा परीक्षण प्रतिवेदन एक अस्पतालबाट अर्को अस्पतालमा सहज रूपमा आदान–प्रदान गर्न सकिने गरी ‘राष्ट्रिय एकीकृत स्वास्थ्य सूचना प्रणाली मापदण्ड’ स्वीकृत गरिएको छ।
अस्पतालको सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याइएको छ। साथै बिरामीलाई आवश्यकतानुसार उपयुक्त स्वास्थ्य संस्थामा व्यवस्थित रूपमा पठाउने व्यवस्था मिलाउन ‘बिरामी प्रेषण राष्ट्रिय निर्देशिका, २०८१’ लागू गरिएको मन्त्रालयले जनाएको छ।
जलनका बिरामीलाई गुणस्तरीय उपचार उपलब्ध गराउने उद्देश्यले १४ वटा सङ्घीय अस्पतालमा जलन उपचार इकाइ स्थापना गरिएको छ। यससँगै जलनका बिरामीको उपचारमा आर्थिक सहयोग पुर्याउन २० करोड रुपैयाँको ‘जलन उपचार कोष’ स्थापना गरिएको छ।
आपतकालीन अवस्थामा बिरामीको शीघ्र उद्धार सुनिश्चित गर्न ११ वटा हेलिकप्टर कम्पनीसँग सहुलियत शुल्कमा उद्धार सेवा उपलब्ध गराउने सम्झौता गरिएको मन्त्री मेहताले जानकारी दिइन्।
स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत अस्पतालहरूले लामो समयदेखि पाउन बाँकी रहेको दाबी रकम भुक्तानीलाई पनि मन्त्रालयले प्राथमिकता दिएको छ। सोहीअनुसार २०८२ मङ्सिरसम्मको दाबीबापत १८ अर्ब ५८ करोड ९१ लाख रुपैयाँ भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ।
सरकारी अस्पतालमा औषधिको सहज उपलब्धता सुनिश्चित गर्न ‘सुलभ फार्मेसी सेवा मापदण्ड’ लागू गरिएको छ। साथै नेपाल औषधि लिमिटेडबाट प्रत्यक्ष रूपमा औषधि खरिद गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
लामो समयदेखि रोकिएको सङ्गठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण सम्पन्न गरी स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ सङ्घीय दरबन्दी थप गरिएको छ। स्वास्थ्यकर्मीको मनोबल अभिवृद्धि गर्न नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीको न्यूनतम तलब र रात्रिकालीन भत्तामा समेत वृद्धि गरिएको छ।
मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सरकारी अस्पतालबाट मनोपरामर्श सेवा सुरु गरिएको छ। साथै ‘११६६’ हटलाइनमार्फत मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
खाद्य स्वच्छता तथा उपभोक्ता सुरक्षालाई प्राथमिकतामा राख्दै मोबाइल प्रयोगशालामार्फत १५ हजारभन्दा बढी खाद्य नमुनामा विषादी परीक्षण गरिएको छ। यस्तै दुर्गम तथा हिमाली क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले ‘उच्च हिमाली स्वास्थ्य केन्द्र (हाई अल्टिच्युड क्लिनिक)’ स्थापना गर्न आवश्यक बजेट विनियोजन गरिएको छ।
अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको मन्त्रालयले जनाएको छ। प्रगति विवरणअनुसार ७९औँ विश्व स्वास्थ्य सभामा नेपालले उपाध्यक्षको भूमिका निर्वाह गर्दै स्वास्थ्य कूटनीतिमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ।
मन्त्री मेहताले पछिल्ला १०० दिनमा भएका सुधारहरूले स्वास्थ्य क्षेत्रमा दीर्घकालीन परिवर्तनको आधार तयार पारेको उल्लेख गर्दै आगामी दिनमा स्वास्थ्य सेवालाई अझ प्रविधिमैत्री, पारदर्शी, गुणस्तरीय र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरिन्।


