

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि ६० वर्ष पूरा गरेका तर ७० वर्ष नपुगेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा उपलब्ध गराउने भएको छ।
गाउँसभाको अधिवेशनबाट पारित वार्षिक नीति तथा कार्यक्रमसँगै उक्त कार्यक्रमका लागि आवश्यक बजेटसमेत सुनिश्चित गरिएको गाउँपालिकाले जनाएको छ।
पालिकाले ६० देखि ७० वर्ष उमेर समूहका नागरिकसँगै दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका तथा विपन्न नागरिकको पनि निःशुल्क स्वास्थ्य बीमा गर्ने नीति लिएको छ। यसबाट स्वास्थ्य सेवामा पहुँच विस्तार हुनुका साथै आर्थिक रूपमा कमजोर वर्गलाई उपचार खर्चको भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हाल संघीय सरकारले ७० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई मात्रै निःशुल्क स्वास्थ्य बीमाको सुविधा उपलब्ध गराउँदै आएको छ। रोशी गाउँपालिकाले भने त्यसभन्दा कम उमेरका ज्येष्ठ नागरिकलाई समेत बीमाको दायरामा समेट्ने निर्णय गरेको हो।
त्यस्तै, महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमा प्रिमियमको ५० प्रतिशत रकम संघीय सरकारले व्यहोर्दै आएकोमा बाँकी ५० प्रतिशत रकम रोशी गाउँपालिकाले व्यहोर्ने व्यवस्था पनि गरेको छ।
गाउँपालिकाको यो निर्णयले स्थानीय तहबाट स्वास्थ्य सुरक्षाको दायरा विस्तार गर्ने प्रयासका रूपमा समेत हेरिएको छ।


