

काठमाडौं – नेपाल चिकित्सक संघले सामाजिक सञ्जालमार्फत गैरचिकित्सकहरूले उपचार गर्ने, औषधि सिफारिस गर्ने तथा स्वास्थ्यसम्बन्धी भ्रामक सूचना फैलाउने प्रवृत्ति बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। यस्ता गतिविधिले आम नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने भन्दै संघले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकबाट मात्रै उपचार तथा औषधि सिफारिस लिन सर्वसाधारणलाई आग्रह गरेको छ।
सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा संघले पछिल्लो समय सामाजिक सञ्जालमा संघलाई लक्षित गर्दै प्रसारित भइरहेका विभिन्न समाचार तथा सामग्रीप्रति पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अपुष्ट र भ्रामक सूचनाको पछि नलागी आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्रै विश्वास गर्न संघले आग्रह गरेको छ।
संघले नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २७ (१) उल्लेख गर्दै आधुनिक चिकित्सा सेवा प्रदान गर्न वा औषधि सिफारिस गर्न आफूले प्राप्त नगरेको उपाधि, डिग्री वा लाइसेन्स प्रयोग गर्न कानुनले निषेध गरेको स्पष्ट पारेको छ। आवश्यक चिकित्सा शिक्षा हासिल गरी कानुनी प्रक्रिया पूरा गरेर नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले मात्रै आधुनिक चिकित्सीय अभ्यास गर्न पाउने व्यवस्था रहेको संघले जनाएको छ।
विज्ञप्तिमा संघले ‘एन्टी क्वाकरी’ अर्थात् अवैध तथा अदक्ष व्यक्तिबाट गरिने चिकित्सीय अभ्यासविरुद्ध आफू सधैँ दृढ रूपमा उभिने प्रतिबद्धता पनि दोहोर्याएको छ।
पछिल्लो समय सामाजिक सञ्जालमा गैरचिकित्सकहरूले स्वास्थ्यसम्बन्धी सल्लाह दिने, औषधि सिफारिस गर्ने तथा उपचारसम्बन्धी भ्रामक सामग्री प्रसारण गर्ने क्रम बढ्दै गएको उल्लेख गर्दै संघले यस्ता गतिविधि रोक्न सम्बन्धित नियामक निकायले प्रभावकारी निगरानी र आवश्यक कारबाही गर्नुपर्नेमा जोड दिएको छ।
साथै, सर्वसाधारणलाई आधिकारिक डिग्री प्राप्त गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकबाट मात्र उपचार गराउन र उनीहरूकै सिफारिसअनुसार औषधि सेवन गर्न चिकित्सक संघले पुनः आग्रह गरेको छ।


