

काठमाडौं – एक सय वा सोभन्दा बढी शय्या क्षमता भएका मेडिकल कलेजले अब पुनः पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रम सञ्चालन गर्न पाउने भएका छन्।
चिकित्सा शिक्षा आयोगले २०७७ सालमा एउटै संस्थाले बीएन, बीएस्सी वा एमएनमध्ये एउटा मात्रै नर्सिङ कार्यक्रम सञ्चालन गर्नुपर्ने निर्णय गरेपछि धेरै मेडिकल कलेजमा पीसीएल नर्सिङ कार्यक्रम बन्द भएको थियो।
उक्त निर्णय चिकित्सा शिक्षा ऐनअनुसार नभएको भन्दै उच्च अदालतमा रिट दायर भएको थियो। उच्च अदालतले गत वर्ष कानुनअनुसार पीसीएल नर्सिङ सञ्चालनमा कुनै रोकावट नरहेको फैसला सुनाएको थियो। त्यसपछि सर्वोच्च अदालत अन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले उक्त फैसला कार्यान्वयन गर्न आयोगलाई निर्देशन दिएको छ।
यससँगै अब १०० वा सोभन्दा बढी शय्या भएका शिक्षण अस्पताल तथा मेडिकल कलेजले पीसीएल स्टाफ नर्स, बीएन र बीएस्सी नर्सिङ कार्यक्रम सञ्चालन गर्न सक्ने भएका छन्।
यो निर्णयसँगै ६ वर्षदेखि रोकिएको पीसीएल नर्सिङ कार्यक्रम मेडिकल कलेजहरूमा पुनः सञ्चालन हुने बाटो खुलेको छ।




