

काठमाडौं – पशु सेवा विभागले काठमाडौं उपत्यकामा देखिएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) कागमार्फत फैलिएको जनाएको छ। विभागका अनुसार कागमा संक्रमण देखिएकाले रोग नियन्त्रणमा चुनौती थपिएको छ।
विभागका महानिर्देशक डा. उमेश दाहालले कुखुरामा देखिने बर्डफ्लु नियन्त्रण गर्न सम्भव भए पनि संक्रमित कागलाई नियन्त्रण गर्न नसकिने भएकाले संक्रमण फैलिने जोखिम उच्च रहेको बताए।
‘कुखुरामा देखिएको बर्डफ्लु नियन्त्रण गर्न सकिन्छ, तर कागलाई नियन्त्रण गर्न सकिँदैन,’ उनले भने, ‘सदर चिडियाखानासहित उपत्यकाका विभिन्न स्थानमा कागमार्फत संक्रमण फैलिएको छ।’
उनका अनुसार संक्रमित काग एक स्थानबाट अर्को स्थानमा उड्ने भएकाले बर्डफ्लु पनि तीव्र रूपमा फैलिने गरेको छ। कागमा संक्रमण देखिएपछि करिब २१ दिनसम्म त्यसले अन्य स्थानमा रोग सार्न सक्ने उनले बताए।
डा. दाहालका अनुसार संक्रमित काग मरेपछि कहाँ मरेको हो भन्ने जानकारी नहुने भएकाले त्यसको मृत शरीर र दिसाबाट समेत बर्डफ्लु फैलिने जोखिम रहन्छ।
हाल काठमाडौं, ललितपुर र भक्तपुर गरी उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण देखिएको विभागले जनाएको छ। देशभर भने ११ जिल्लाका करिब १०० स्थानमा बर्डफ्लु पुष्टि भइसकेको छ।
महानिर्देशक दाहालका अनुसार काठमाडौं उपत्यकामा कीर्तिपुर र कागेश्वरी मनोहरा नगरपालिकाबाहेक अधिकांश स्थानमा संक्रमण नियन्त्रणमा ल्याइसकिएको छ। यद्यपि कागमार्फत संक्रमण फैलिन सक्ने जोखिम अझै कायम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। त्यसैले संक्रमित वा मरेका काग तथा अन्य पन्छीसँग प्रत्यक्ष सम्पर्क नगर्न र त्यस्ता घटना देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन विभागले अनुरोध गरेको छ।
बर्डफ्लु नियन्त्रणका लागि विभागले उपमहानिर्देशकको नेतृत्वमा विशेष नियन्त्रण कक्ष स्थापना गरी संघ, प्रदेश र स्थानीय तहसँगको समन्वयमा संक्रमण देखिएका क्षेत्रमा नियन्त्रण अभियान सञ्चालन गरिरहेको जनाएको छ।


