

कैलाली – कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीविरुद्ध लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. कमलेशप्रसाद यादवले गाली–बेइज्जती र धम्की दिएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दर्ता गराएका छन्।
बुधबार दर्ता गरिएको जाहेरीमा मेयर शाहीले आफूलाई अस्पतालमा प्रवेश गर्न नदिने, अस्पताल आए गाली–बेइज्जती गर्ने तथा आफू रहेको स्थानमै आएर कारबाही गर्ने भन्दै धम्की दिएको उल्लेख गरिएको छ।
डा. यादवका अनुसार असार ११ गते दिउँसो करिब ३ः१० बजे अस्पतालबाट फर्किएर निवासमा पुगेका बेला मेयर शाहीले फोनमार्फत धम्कीपूर्ण अभिव्यक्ति दिएकी थिइन्। उक्त घटनाले आफ्नो मान–प्रतिष्ठामा आँच पुगेको, मानसिक तनाव सिर्जना भएको तथा सरकारी जिम्मेवारी निर्वाहमा समेत असर परेको उनले दाबी गरेका छन्।
घटनाको प्रमाणस्वरूप उनले फोन संवादको अडिओ रेकर्डसमेत प्रहरीसमक्ष बुझाउँदै कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।
यसैबीच, अस्पतालमा औषधि अभावलगायतका समस्या सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको टोलीले बुधबार लम्कीचुहा प्रादेशिक अस्पतालको स्थलगत अनुगमन गरेको छ।
अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. निरज अर्याल नेतृत्वको टोलीले अस्पतालको सेवा प्रवाह, जनशक्ति व्यवस्थापन तथा समग्र अवस्थाबारे जानकारी लिएको जनाएको छ।
अनुगमन टोली फर्किएपछि निमित्त मेसु डा. यादवलाई नगरप्रमुखबाट धम्की दिइएको विषयमा जानकारी प्राप्त भएको भन्दै डा. अर्यालले यसबारे छलफल गर्न बैठक बस्ने तयारी भइरहेको बताए। उनले कुनै पनि कर्मचारीलाई धम्की दिने कार्य स्वीकार्य हुन नसक्ने टिप्पणी गरे।
यता, डा. यादवले मेयर शाहीबाट आफूले लामो समयदेखि पटक–पटक दबाब र धम्की झेल्दै आएको आरोप लगाएका छन्। आफूलाई अस्पतालमा नआउन भन्दै बारम्बार फोनमार्फत दबाब दिइएको र सरुवा गरिदिए हुने अवस्थामा पनि अनावश्यक रूपमा धम्की दिइएको उनको भनाइ छ।
यसअघि पनि उनले नगरपालिकालाई पत्र लेख्दै प्रदेश सरकारबाट खटिएका कर्मचारीले अस्पतालमा सहज रूपमा काम गर्न सक्ने वातावरण सुनिश्चित नभएको उल्लेख गरेका थिए। अस्पतालको प्रभावकारी सञ्चालन, जनशक्ति तथा स्रोत–साधन व्यवस्थापन र सेवा प्रवाहलाई व्यवस्थित बनाउन नगरपालिका र अस्पताल प्रशासनबीच समन्वय तथा आपसी समझदारी आवश्यक रहेको उनको धारणा थियो।
डा. यादवले अस्पताललाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्ने प्रयास गरे पनि त्यसलाई नगरप्रमुखले सकारात्मक रूपमा नबुझेको र त्यसयता आफूले निरन्तर दबाब तथा धम्कीको सामना गर्नुपरेको आरोप लगाएका छन्।


