

काठमाडौं – प्राकृतिक चिकित्सा तथा योग क्षेत्रमा कार्यरत चिकित्सकहरूले बीएनवाइएस (बैचलर अफ नेचुरोप्याथी एन्ड योगिक साइन्सेज) अध्ययन गरेकी चिकित्सक डा. चेतना पौडेललाई पक्राउ गरिएको घटनाको विरोध गरेका छन्। उनीहरूले प्राकृतिक चिकित्सा अभ्यास गरिरहेका चिकित्सकमाथि एलोपेथिक चिकित्सा प्रणालीको मापदण्ड लागू गरेर कारबाही गर्न खोजिएको आरोप लगाएका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चन्द्रागिरि नगरपालिका–८ स्थित स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टमा कार्यरत ४७ वर्षीया चेतना ए.एम. (पौडेल) लाई गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ गरेको थियो। नेपाल मेडिकल काउन्सिलको अनुसन्धान प्रतिवेदनका आधारमा उनीविरुद्ध ‘इलाजसम्बन्धी कसुर’ अन्तर्गत अनुसन्धान अघि बढाइएको छ।
नेपाल मेडिकल काउन्सिलले पौडेलले आफूले प्राप्त नगरेको चिकित्सकको उपाधि प्रयोग गरेको, नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई बिरामीको आधुनिक चिकित्सा निदान तथा उपचारमा संलग्न भएको र बिरामीलाई औषधिसमेत सिफारिस गरेको दाबी गरेको छ।
तर, योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले भने उक्त आरोपप्रति गम्भीर आपत्ति जनाएको छ। संघले जारी गरेको विज्ञप्तिमा डा. पौडेल भारतको बेंगलुरुस्थित राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालय (आरजीयूएचएस) अन्तर्गत एसडीएम कलेज अफ नेचुरोप्याथी एन्ड योगिक साइन्सेजबाट बीएनवाइएस उपाधि हासिल गरेकी चिकित्सक रहेको उल्लेख गरेको छ।
संघका अनुसार बीएनवाइएस कुनै छोटो अवधिको तालिम वा सामान्य प्रमाणपत्र कार्यक्रम नभई विश्वविद्यालयस्तरको पूर्णकालीन स्वास्थ्य विज्ञानसम्बन्धी अध्ययन हो। डा. पौडेलको शैक्षिक योग्यता त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त रहेको र उनी नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपीसी) मा विधिवत् दर्ता रहेको संघको दाबी छ।
संघले नेपालमा हालसम्म बीएनवाइएस चिकित्सकका लागि छुट्टै परिषद् स्थापना नभएकाले उनीहरू एनएचपीसीमार्फत दर्ता भएर व्यावसायिक अभ्यास गर्दै आएको जनाएको छ। ‘डा.’ उपाधि सम्बन्धित विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक उपाधि भएकाले त्यसको प्रयोगलाई गैरकानुनी भन्न नमिल्ने संघको तर्क छ।
प्राकृतिक चिकित्सा क्षेत्रमा कार्यरत चिकित्सकहरूले बीएनवाइएस चिकित्सकमाथि नेपाल मेडिकल काउन्सिलको मापदण्ड लागू गरेर कारबाही गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले यस घटनाले प्राकृतिक चिकित्सा क्षेत्रको अस्तित्व र व्यावसायिक अधिकारमाथि प्रश्न उठाएको बताएका छन्।


