

बुटवल – नक्कली औषधि बिक्री भइरहेको सूचनापछि प्रहरीले बुटवलको अस्पताल लाइनस्थित सैनामैना हेल्थ सेन्टरद्वारा सञ्चालित रैनामैना फार्मेसीमा छापा मारेर शङ्कास्पद औषधि जफत गरेको छ।
बुधबार जनस्वास्थ्य कार्यालय रूपन्देहीको रोहबरमा इलाका प्रहरी कार्यालय बुटवलको टोलीले फार्मेसीमा छापा हानेको हो। छापामार कारबाहीका क्रममा प्रहरीले श्वासप्रश्वाससम्बन्धी ६७ पत्ता औषधि बरामद गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवका अनुसार बरामद गरिएका औषधिहरूको गुणस्तर तथा वैधताबारे परीक्षण गर्न औषधि व्यवस्था विभागमा पठाइएको छ।
उनले औषधिको मूल्य निर्धारण, बिक्री वितरणको शैली तथा प्राप्त भएका विभिन्न गुनासाका आधारमा उक्त फार्मेसीलाई केही समयदेखि विशेष निगरानीमा राखिएको बताए।
प्रहरीका अनुसार बरामद गरिएका औषधिमध्ये केही भारतमा उत्पादित छन्। ती औषधि नक्कली भएको पुष्टि भएपछि औषधि व्यवस्था विभागले यसअघि नै खरिद–बिक्री नगर्न सूचना जारी गरेको थियो।
छानबिनका क्रममा बरामद भएका कतिपय औषधिको वैध आयात अनुमति वा आधिकारिक खरिद बिलसमेत फेला नपरेकाले ती औषधि कहाँबाट ल्याइयो र कसरी बुटवलसम्म पुग्यो भन्ने विषयमा अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न औषधि व्यवसायीमाथि औषधि ऐन तथा जनस्वास्थ्यविरुद्धको कसुरअन्तर्गत कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।


