

काठमाडौँ- विगत दुई महिनादेखि क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव झेलिरहेका बिरामीका लागि राहतको खबर आएको छ। औषधि व्यवस्था विभागले किमोथेरापीमा प्रयोग हुने औषधिहरूको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ।
विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यका अनुसार हाल सीमित स्थानमा मात्रै उपलब्ध गराइँदै आएका क्यान्सर उपचारका औषधि अब देशभर सहज रूपमा वितरण गर्ने व्यवस्था मिलाइएको छ। उनले औषधिको आयात प्रक्रिया सहज बनाएर बिरामीलाई आवश्यक औषधि सहज रूपमा उपलब्ध गराउने तयारी भइरहेको बताए।
‘औषधिको अभावका कारण बिरामीलाई सहजता होस् भनेर केही अस्पताल र फार्मेसीलाई तोकेर औषधि उपलब्ध गराउने व्यवस्था गरिएको थियो,’ बज्राचार्यले भने, ‘अब आयात प्रक्रिया सहज बनाएर देशभर आवश्यक आपूर्ति सुनिश्चित गर्ने तयारी भइरहेको छ।’
उनका अनुसार सरकारले क्यान्सर उपचारमा प्रयोग हुने औषधिको मूल्य समायोजन गर्ने प्रतिबद्धता व्यक्त गरिसकेकाले निकट भविष्यमा आपूर्तिमा देखिएको समस्या समाधान हुने अपेक्षा गरिएको छ।
पछिल्ला दुई महिनादेखि क्यान्सरको किमोथेरापी उपचारमा अत्यधिक प्रयोग हुने ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ औषधिको अभाव देखिएको थियो। यी औषधि अभावका कारण विभिन्न अस्पतालमा उपचार प्रभावित भएको थियो।
विभागले औषधि उपलब्ध गराउनका लागि देशका विभिन्न स्थानमा रहेका अस्पताल तथा फार्मेसीलाई सम्पर्क केन्द्रका रूपमा तोकेको छ। तीमध्ये जानकी अस्पताल नेपालगञ्ज, पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड, विराट मेडिकल कलेज विराटनगर, पुनम फार्मेसी धरान, राजदूत प्रालि भरतपुर, बाबिना फर्मा पोखरा, मल्ल फर्मास्युटिकल्स पोखरा, ताज नेपाल प्रालि काठमाडौं, डिकेएम फर्मास्युटिकल्स प्रालि काठमाडौं, सिजल फर्मा तथा अनमोल हेल्थ केयर काठमाडौं रहेका छन्।
किमोथेरापी उपचारका लागि सबैभन्दा बढी माग हुने औषधि ‘कार्बोप्लाटिन’ हो भने त्यसपछि ‘सिस्प्लाटिन’ आवश्यक पर्ने विभागले जनाएको छ। बज्राचार्यका अनुसार हाल नेपालमा ‘कार्बोप्लाटिन’ करिब दुई हजार भाइल र ‘सिस्प्लाटिन’ ५० भाइल मात्र मौज्दात रहेको छ।
नेपालमा प्रत्येक महिना करिब एक हजार भाइल ‘कार्बोप्लाटिन’ र ६०० भाइल ‘सिस्प्लाटिन’ आवश्यक पर्ने अनुमान गरिएको छ।
नेपाल औषधि आपूर्तिकर्ता संघका अध्यक्ष पवन आचार्यले बिरामीको उपचारमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले महँगो मूल्यमा भए पनि आवश्यक औषधि विदेशबाट आयात गरेर उपलब्ध गराइँदै आएको बताए।
उनका अनुसार एक महिनालाई पुग्ने परिमाणको ‘सिस्प्लाटिन’ औषधि भारतबाट नेपाल ल्याइँदै छ। सरकारले मूल्य समायोजन गरेपछि भविष्यमा यस्ता औषधिको अभाव नहुने विश्वास पनि उनले व्यक्त गरे।
क्यान्सर उपचारका लागि प्रयोग हुने यी औषधिको अभाव भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत प्रमुख स्वास्थ्य संस्थाहरूमा देखिएको थियो। औषधिको आपूर्ति सहज भएसँगै उपचार सेवा पनि नियमित हुने अपेक्षा गरिएको छ।


