

काठमाडौँ – गर्मीयामसँगै सर्पदंशका घटना बढ्न थालेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ। तापक्रम वृद्धि भएसँगै सर्पहरू दुलोबाट बाहिर निस्कने र मानिससँगको सम्पर्क बढ्ने भएकाले सर्पदंशका घटना बढेको अस्पतालले जनाएको छ।
अस्पतालका सूचना अधिकारी समीरकुमार अधिकारीका अनुसार चालु वर्षको साउनयता हालसम्म २७९ जना सर्पदंशका बिरामी अस्पतालमा उपचारका लागि पुगेका छन्। उनका अनुसार जेठ महिनामा २५ जना र वैशाखमा १० जना बिरामी सर्पदंशबाट प्रभावित भएका थिए।
त्यस्तै साउन महिनामा ६६, भदौमा ७५, असोजमा ७०, कात्तिकमा २०, फागुनमा एक र चैतमा १२ जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन्।
अधिकारीका अनुसार गर्मी बढेसँगै सर्पहरू आफ्नो बासस्थानबाट बाहिर निस्कने भएकाले मानिसलाई टोक्ने सम्भावना पनि बढ्ने गर्दछ।
नेपालमा गोमन, राजगोमन, करेत, मुगा तथा बाघे सर्पजस्ता विषालु प्रजातिले मानिसलाई डस्ने गरेको उनले बताए। काभ्रे, धादिङ, तनहुँ, रामेछाप, दोलखा लगायत विभिन्न जिल्लाबाट सर्पदंशका बिरामी उपचारका लागि टेकु अस्पताल आउने गरेका छन्।
सर्पले टोकेपछि के गर्ने ?
स्वास्थ्यकर्मीका अनुसार सर्पले टोकेपछि डसेको भागलाई स्थिर राख्नुपर्छ र बिरामीलाई अनावश्यक हिँडडुल गर्न दिनु हुँदैन। डसेको स्थानमा काट्ने, चुस्ने, कस्सेर बाँध्ने वा कुनै प्रकारका मलम तथा रासायनिक पदार्थ प्रयोग गर्नु हुँदैन।
यस्तै तातो वा चिसो सेकाइ नगर्न, बिरामीलाई मानसिक रूपमा ढाडस दिन तथा सम्भव भए सर्पको पहिचान गर्न प्रयास गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ। सबैभन्दा महत्वपूर्ण कुरा बिरामीलाई सकेसम्म छिटो स्वास्थ्य संस्थामा पुर्याउनु हो।
सर्पदंशबाट कसरी जोगिने ?
सर्पदंशबाट बच्न रातिको समयमा बाहिर निस्कँदा टर्चलाइट प्रयोग गर्ने, जुत्ता वा गमबुट लगाउने तथा खुट्टा राम्ररी छोपिने बाक्लो पाइन्ट लगाउने गर्नुपर्छ।
त्यसैगरी घर वरपरका झारपात, घाँस तथा फोहोर सफा राख्ने, काठ, ढुङ्गा वा पुराना सामानका थुप्रा हटाउने र जमिनमा भएका दुला टाल्ने जस्ता उपाय अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।
पराल, दाउरा वा झाडी चलाउँदा सावधानी अपनाउने, सुत्नुअघि ओछ्यान, खाटमुनि तथा वरपरको क्षेत्र राम्ररी निरीक्षण गर्ने र झुल टाँगेर मात्र सुत्ने बानीले पनि सर्पदंशको जोखिम कम गर्न सकिने चिकित्सकहरू बताउँछन्।


