

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको संक्रमण उच्च जोखिममा रहेका जिल्लाहरूमा विशेष खोप अभियान सञ्चालन गरेको छ। दादुराको फैलावट नियन्त्रण गर्न स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’ अघि बढाएको हो।
बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार हाल जाजरकोट, सुर्खेत, कालिकोट, महोत्तरी, बागलुङ र सिराहामा अभियान सञ्चालन भइरहेको छ। यो अभियान यसै सातासम्म जारी रहनेछ।
सर्लाहीमा भने यसअघि नै खोप अभियान सम्पन्न भइसकेको छ। यस्तै अछाम र दैलेखमा हालसम्म दुई जनामा मात्र दादुरा संक्रमण पुष्टि भएकाले तत्काल विशेष खोप अभियान सञ्चालन गर्नुपर्ने अवस्था नरहेको डा. गौतमले बताए।
उच्च जोखिममा रहेका क्षेत्रका ६ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी खोप लगाइँदै आएको छ। तर, बागलुङमा ६ महिनादेखि २० वर्षसम्म तथा जाजरकोटमा ६ महिनादेखि २४ वर्षसम्मका उमेर समूहलाई खोप दिइएको छ।
डा. गौतमका अनुसार यी दुई जिल्लामा १५ वर्षभन्दा माथिका व्यक्तिमा समेत दादुरा संक्रमण देखिएकाले उमेरको दायरा विस्तार गरेर खोप अभियान सञ्चालन गरिएको हो।
उनले दादुरा अत्यन्त संक्रामक रोग भएकाले यसको नियन्त्रणमा विशेष सतर्कता आवश्यक रहेको बताए। “एक जना संक्रमित व्यक्तिले १८ जनासम्मलाई संक्रमण सार्न सक्छ। त्यसैले संक्रमण फैलिएको क्षेत्रमा तत्काल खोप अभियान सञ्चालन गरी बालबालिका तथा समुदायलाई सुरक्षित बनाउने प्रयास भइरहेको छ,” उनले भने।


