

काठमाडौं – केही वर्षअघिसम्म नेपालमा मनोचिकित्सक (साइकाइट्रिस्ट) लाई ‘बौलाहाको डाक्टर’ भनेर हेप्ने र मानसिक रोगलाई लुकाउने प्रवृत्ति व्यापक थियो। मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिलाई ‘पागल’ को संज्ञा दिइन्थ्यो र अस्पताल पुर्याउन परिवारसमेत हिच्किचाउने गर्थे। तर समय परिवर्तनसँगै मानसिक स्वास्थ्यको महत्वबारे जनचेतना बढ्न थालेको छ।
बीएण्डबी अस्पतालकी वरिष्ठ मनोचिकित्सक डा. नम्रता प्रधान भने अझै पनि समाजमा मानसिक रोगप्रतिको भ्रम र कलंक पूर्ण रूपमा हट्न नसकेको बताउँछिन्। नौ वर्षदेखि मनोचिकित्सकका रूपमा कार्यरत उनी आफूले यो विषय अध्ययन गर्न थालेका बेला समेत मानिसहरूले साइकाइट्रिस्टलाई ‘बौलाहाको डाक्टर’ भनेर होच्याउने गरेको सम्झन्छिन्।
“मैले साइकाइट्री पढ्न थालेको बेला पनि मानिसहरूले विभिन्न टिप्पणी गर्थे। तर अहिले आएर हेर्दा मानसिक स्वास्थ्यजस्तो महत्वपूर्ण विषय अरू कमै छन् भन्ने महसुस हुन्छ,” उनी भन्छिन्।
उनका अनुसार मानसिक स्वास्थ्य केवल रोगको विषय मात्र होइन, यो व्यक्तिगत सम्बन्ध, पारिवारिक जीवन, कार्यक्षमता र समग्र जीवनस्तरसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो। मानसिक अवस्था सन्तुलित भए व्यक्तिको सम्बन्ध, निर्णय क्षमता र जीवनप्रतिको दृष्टिकोण पनि सकारात्मक हुने गर्छ।
बढ्दो तनाव र मानसिक समस्या
डा. प्रधानका अनुसार पछिल्ला वर्षहरूमा नेपालभित्र बस्ने र रोजगारी तथा अध्ययनका लागि विदेश गएका नेपाली दुवै समूहमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दो क्रममा छन्।
विशेषगरी एन्जाइटी (चिन्ता) र डिप्रेसन (अवसाद) सबैभन्दा धेरै देखिने मानसिक समस्या हुन्। यस्ता समस्या भएका व्यक्तिमा अल्छी लाग्ने, कुनै काममा रुचि नहुने, आत्मविश्वास घट्ने, निद्रामा समस्या आउने तथा सामाजिक रूपमा अलग हुने जस्ता लक्षण देखिन सक्छन्।
उनले आधुनिक जीवनशैली पनि मानसिक स्वास्थ्य समस्याको एउटा प्रमुख कारण बनेको बताउँछिन्।
“पहिले मानिसहरू शारीरिक श्रम धेरै गर्थे। अहिले अधिकांश समय मोबाइल, कम्प्युटर र विभिन्न स्क्रिनमा बित्छ। जीवनशैली परिवर्तनले पनि मानसिक स्वास्थ्यमा प्रभाव पारेको छ,” उनी भन्छिन्।
किन ढिला पुग्छन् बिरामी ?
नेपालमा मानसिक रोगका बिरामी समयमै अस्पताल नपुग्नु ठूलो समस्या भएको डा. प्रधानको अनुभव छ।
उनका अनुसार समाजमा अझै पनि मानसिक रोगलाई कमजोरी, बहाना वा ‘पागलपन’ का रूपमा बुझ्ने प्रवृत्ति कायम छ। त्यसैले धेरै बिरामीले आफ्नो समस्या लुकाउने वा उपचारमा ढिलाइ गर्ने गर्छन्।
“मानसिक अवस्था ठीक छैन भनेर व्यक्त गर्दा ‘तिमीलाई केही भएको छैन’, ‘धेरै सोच्यौ’, ‘पागलजस्तो कुरा नगर’ भन्ने प्रतिक्रिया पाइन्छ। यही कारणले धेरै बिरामी उपचारका लागि निकै ढिला आउँछन्,” उनी बताउँछिन्।
उपचारमा ढिलाइ हुँदा समस्या जटिल बन्ने र औषधिको आवश्यकता बढ्न सक्ने उनको भनाइ छ।
आफ्नै लागि समय छैन
डा. प्रधानका अनुसार अहिलेको समाजको अर्को चुनौती भनेको मानिसहरूले आफ्नो लागि समय निकाल्न नसक्नु हो। “हामी कामलाई समय दिन्छौं, परिवारलाई समय दिन्छौं, सामाजिक जिम्मेवारी पूरा गर्छौं। तर आफ्नै मानसिक स्वास्थ्यका लागि कति समय छुट्याउँछौं ?” उनी प्रश्न गर्छिन्।
उनका अनुसार सामाजिक सञ्जालको बढ्दो प्रभावले पनि मानिसहरूमा तुलना गर्ने प्रवृत्ति बढाएको छ।
“अरू सबै अगाडि बढिसके, म जहाँको त्यहीँ छु भन्ने सोचले धेरैलाई तनाव दिइरहेको छ। आफूलाई अरूसँग तुलना गर्दा आत्मसन्तुष्टि हराउन थाल्छ र मानसिक समस्या बढ्न सक्छ,” उनी भन्छिन्।
समयमै उपचार सम्भव
डा. प्रधानका अनुसार एन्जाइटी र डिप्रेसन जस्ता समस्या समयमै पहिचान भए धेरै अवस्थामा काउन्सेलिङ र थेरापीबाटै सुधार गर्न सकिन्छ। तर समस्या लामो समयसम्म बेवास्ता गरियो भने औषधिको आवश्यकता पर्न सक्छ।
उनका अनुसार मानसिक रोग एउटा मात्र कारणले लाग्दैन। आनुवंशिक अवस्था, पारिवारिक वातावरण, सामाजिक सम्बन्ध, आर्थिक दबाब, कार्यस्थलको तनाव र व्यक्तिगत अनुभवलगायत विभिन्न कारणले मानसिक स्वास्थ्यमा असर पार्न सक्छ।
“मानसिक रोग एउटा घटनाले मात्र हुँदैन। त्यसका पछाडि धेरै फ्याक्टर हुन्छन्। त्यसैले उपचार गर्दा पनि समग्र अवस्थालाई हेर्नुपर्छ,” उनी बताउँछिन्।
मन स्वस्थ भए जीवन सहज हुन्छ
डा. प्रधानका अनुसार मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यसरह महत्व दिन आवश्यक छ।
“दिमागले शान्ति पाएन भने शरीरका अन्य अंगले पनि आराम पाउँदैनन्। मन अशान्त हुँदा पूरै शरीर थाकेको महसुस हुन्छ,” उनी भन्छिन्।
उनले कुनै समस्या, तनाव वा चिन्ता भए आफूभित्र दबाएर नराख्न सुझाव दिन्छिन्। परिवार, साथीभाइ वा विश्वासिला व्यक्तिसँग खुलेर कुरा गर्न सके धेरै समस्या कम हुन सक्छन्।
यदि त्यसो गर्दा पनि अवस्था सुधार नभए विशेषज्ञ चिकित्सक वा मनोपरामर्शदातासँग भेट्न उनी आग्रह गर्छिन्।
‘कुरा गरौं, मन हलुका बनाऔं’
मानसिक स्वास्थ्यसम्बन्धी चेतना बढ्दै गए पनि पुरानो पुस्तामा अझै मानसिक रोगलाई सामान्य रूपमा लिन नचाहने प्रवृत्ति रहेको डा. प्रधान बताउँछिन्।
“अहिले एन्जाइटी म्यानेजमेन्टबारे सिकाइ हुन थालेको छ। तर धेरैजसो पुराना पुस्ताले यसलाई आफैं सहनुपर्छ भन्ने सोच राख्छन्। त्यहीँबाट समस्या झन् जटिल बन्छ,” उनी भन्छिन्।
उनका अनुसार धेरै मानिस उच्च रक्तचाप, मधुमेह वा अन्य शारीरिक रोगका औषधि खान सहज मान्छन्, तर मानसिक स्वास्थ्यसम्बन्धी औषधि सेवन गर्न लाज मान्छन्।
“हात वा खुट्टा नभए पनि मानिस बाँच्न सक्छ। तर मन नै अशान्त भयो भने जीवन निकै कठिन बन्छ। त्यसैले मानसिक स्वास्थ्यलाई बेवास्ता गर्नु हुँदैन,” उनी भन्छिन्।
डा. प्रधान भन्छिन् “समस्या छ भने कुरा गरौं, भावना साझा गरौं। आवश्यक परे विशेषज्ञको सहयोग लिन नहिच्किचाऔं। मानसिक स्वास्थ्य पनि स्वास्थ्यकै महत्वपूर्ण हिस्सा हो।”


