

काठमाडौं – मनसुन सक्रिय भएसँगै देशभर मौसमजन्य तथा सरुवा रोगका बिरामीको संख्या बढ्न थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको पछिल्लो साप्ताहिक निगरानी बुलेटिनले वर्षायामसँगै विभिन्न रोगको संक्रमण फैलिरहेको देखाएको छ।
महाशाखाका अनुसार पछिल्लो एक सातामा देशभर विभिन्न सरुवा रोग तथा स्वास्थ्य समस्याका कुल १ हजार ८१५ जना बिरामी दर्ता भएका छन्। तीमध्ये तीव्र झाडापखाला (एक्युट ग्यास्ट्रोएन्टराइटिस) का बिरामी सबैभन्दा बढी रहेका छन्। एक साताको अवधिमा मात्रै ८६१ जना झाडापखालाबाट प्रभावित भएका छन्।
त्यसैगरी इन्फ्लुएन्जा जस्तो लक्षण देखिने रोग (इन्फ्लुएन्जा लाइक इलनेस) का ४४२ जना तथा गम्भीर श्वासप्रश्वास संक्रमण (सिभियर एक्युट रेस्पिरेटरी इन्फेक्सन) का ४१३ जना बिरामी रिपोर्ट भएका छन्।
बुलेटिनअनुसार सोही अवधिमा डेंगुका ५५, र्याससहितको ज्वरोका १६, स्क्रब टाइफसका ११, इन्फ्लुएन्जाका ७, पीलियासहितको ज्वरोका ६ तथा कालाजारका ४ जना बिरामी फेला परेका छन्।
झाडापखालाका बिरामीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ४६५ जना दर्ता भएका छन्। त्यसपछि लुम्बिनीमा १२७, मधेशमा ७३, सुदूरपश्चिममा ६८, गण्डकीमा ५९, कोशीमा ४२ र कर्णालीमा २७ जना बिरामी भेटिएका छन्।
इन्फ्लुएन्जा जस्तो लक्षण भएका बिरामीको संख्या भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी २२२ जना रहेको छ। बागमतीमा ११७, कोशीमा २८, लुम्बिनीमा २५, कर्णालीमा २४, गण्डकीमा १४ र मधेशमा १२ जना बिरामी रिपोर्ट भएका छन्।
डेंगु संक्रमण पनि निरन्तर देखिइरहेको छ। एक साताको अवधिमा भेटिएका ५५ संक्रमितमध्ये कोशी प्रदेशमा १७ जना, लुम्बिनीमा १५, बागमतीमा १०, गण्डकीमा ६, मधेशमा ४ र सुदूरपश्चिममा ३ जना रहेका छन्। कर्णाली प्रदेशमा भने डेंगुका कुनै बिरामी दर्ता भएका छैनन्।
महाशाखाको तथ्यांकले मनसुन सुरु भएसँगै विशेषगरी पानीजन्य रोग, श्वासप्रश्वाससम्बन्धी संक्रमण तथा डेंगुको जोखिम बढ्दै गएको संकेत गरेको छ। स्वास्थ्यकर्मीहरूले सुरक्षित खानेपानीको प्रयोग, व्यक्तिगत सरसफाइमा ध्यान दिन, वातावरण सफा राख्न तथा लामखुट्टेको प्रजननस्थल नष्ट गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
साथै, कुनै क्षेत्रमा एकैपटक धेरै व्यक्ति बिरामी परेको अवस्था, असामान्य जनस्वास्थ्य घटना वा पशुपन्छीमा अस्वाभाविक रोग तथा मृत्यु देखिएमा निःशुल्क हेल्लो स्वास्थ्य १११५ मा जानकारी गराउन महाशाखाले अनुरोध गरेको छ।


