

काठमाडौं – नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले देशभर क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि सिस्प्लाटिन र कार्बोप्लाटिनको अभावबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रीले संसदलाई स्पष्ट जवाफ दिनुपर्ने माग गरेकी छन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद थपलियाले क्यान्सरका बिरामीहरूले औषधि अभावका कारण उपचारमा गम्भीर समस्या भोगिरहेको बताइन्। यसअघि स्वास्थ्य मन्त्रीले औषधि व्यवस्था विभागको निरीक्षण गरी आवश्यक निर्देशन दिएको जानकारी आए पनि बिरामीहरूले अझै औषधि नपाएको गुनासो गरिरहेको उनको भनाइ थियो।
उनले हाल सिस्प्लाटिन नेपालका कुन–कुन अस्पताल वा औषधि केन्द्रमा उपलब्ध छ भन्ने जानकारी तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरिन्। साथै यस्ता अत्यावश्यक क्यान्सर औषधिको अभाव भविष्यमा दोहोरिन नदिन सरकारको तत्कालीन तथा दीर्घकालीन योजना के छ भन्ने विषयमा पनि सदनलाई जानकारी गराउन आग्रह गरिन्।
सांसद थपलियाले मन्त्रीले निर्देशन दिएका कम्पनीहरूको निरीक्षण तथा अनुमति प्रक्रियाको प्रगति र त्यसबाट औषधि आपूर्तिमा कहिलेदेखि सुधार आउने भन्ने विषयमा समेत स्पष्ट जवाफ दिनुपर्ने बताइन्।
भक्तपुर क्यान्सर अस्पतालमा उपचारका लागि पुगेका एक बिरामीले औषधि खोजिदिन आग्रह गर्दै आफूलाई सम्पर्क गरेको उदाहरण दिँदै उनले सरकारलाई बिरामीको जीवनसँग खेलवाड नगर्न चेतावनी दिइन्। मन्त्रीले निर्देशन दिने मात्र नभई सम्बन्धित निकायमार्फत बिरामीहरूले वास्तवमै औषधि पाए वा पाएनन् भन्ने विषयमा समेत अनुगमन गर्नुपर्ने उनको भनाइ थियो।
क्यान्सरजस्ता जटिल रोगका बिरामीहरूले आवश्यक औषधि सहज रूपमा प्राप्त गर्ने सुनिश्चितता गर्न सरकार गम्भीर बन्नुपर्ने भन्दै सांसद थपलियाले स्वास्थ्य मन्त्रीलाई संसदमार्फत जवाफ दिन आग्रह गरिन्।


