

काठमाडौँ- म्यामोग्राफी मेसिन खरिदमा अनियमितता भएको आरोपमा दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित आठ जनालाई सफाइ दिएको छ।
सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले संक्षिप्त फैसला सुनाउँदै आरोपितमध्ये केहीलाई निर्दोष ठहर गरेको हो।
सफाइ पाउनेहरूमा डा. संगीता मिश्र, डा. विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद देवकोटा, शम्भुप्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकाल रहेका छन्। अदालतले उनीहरूको प्रत्यक्ष संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको निष्कर्ष निकालेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. मिश्र स्वास्थ्य सेवा विभागको महानिर्देशक रहेका बेला म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा भ्रष्टाचार भएको दाबी गर्दै मुद्दा दायर गरेको थियो। तर अदालतले उक्त आरोप पुष्टि हुन नसकेको ठहर गरेको हो।
यद्यपि, सोही मुद्दामा स्वास्थ्य सेवा विभागका तत्कालीन व्यवस्थापन महाशाखा प्रमुख सुरेन्द्रप्रसाद चौरासिया, श्रवणकुमार थापा, आशिष चौहान, पद्या मिश्र र संजयकुमार साहलाई भ्रष्टाचार कसुरमा दोषी ठहर गरिएको छ।
अदालतले उनीहरूलाई चार महिनाको कैद सजाय र जरिवाना सुनाएको छ। म्यामोग्राफी मेसिन आपूर्ति गर्ने माक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालिका सुन्दर भुसाल पनि दोषी ठहर भएका छन्। उनलाई समेत चार महिनाको कैद सजाय सुनाइएको अदालतले जनाएको छ।
विशेष अदालतको फैसलासँगै लामो समयदेखि चर्चामा रहेको म्यामोग्राफी मेसिन खरिद प्रकरणमा कानुनी रूपमा कसको जिम्मेवारी स्थापित भयो भन्ने विषय स्पष्ट भएको छ। विस्तृत फैसला भने पछि सार्वजनिक हुने अपेक्षा गरिएको छ।





