

काठमाडौँ – विज्ञहरूले नेपालमा आँखा उपचार सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार भए पनि अन्धोपनको जोखिम अझै पूर्ण रूपमा नियन्त्रणमा नआएको बताएका छन्। नेपाल नेत्रज्योति सङ्घको ३०औँ केन्द्रीय सभाको अधिवेशनमा सहभागी विशेषज्ञहरूले अन्धोपनको दरमा केही कमी आए पनि जनसङ्ख्याको आकारका कारण जोखिम अझै उच्च रहेको बताएका हुन्।
कार्यक्रममा बोल्दै वरिष्ठ नेत्ररोग विशेषज्ञहरूले औसत आयु बढ्दै जानु, उच्च रक्तचाप तथा मधुमेहका बिरामीको सङ्ख्या वृद्धि हुनुजस्ता कारणले नेपालमा आँखासम्बन्धी समस्या बढ्दै गएको उल्लेख गरे। उनीहरूले विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा गुणस्तरीय आँखा उपचार सेवाको पहुँच थप विस्तार गर्न आवश्यक रहेकोमा जोड दिए।
वक्ताहरूले नेपालको आँखा उपचार सेवा अन्तर्राष्ट्रिय स्तरमै उदाहरणीय रहेको उल्लेख गर्दै नेपाललाई दक्षिण एशियाकै प्रमुख आँखा उपचार केन्द्र अर्थात् ‘हब’ का रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताए।
नेपाल नेत्रज्योति सङ्घका अनुसार सन् २०२५ मा सङ्घअन्तर्गत सञ्चालित आँखा अस्पताल, उपचार केन्द्र तथा विभिन्न बाह्य सेवामार्फत ३३ लाख ७८ हजार ४२ जनाको आँखा परीक्षण गरिएको थियो। सोही अवधिमा दुई लाख ६६ हजार ४०१ जनाको शल्यक्रिया सम्पन्न गरिएको सङ्घले जनाएको छ।
कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले नेपाल नेत्रज्योति सङ्घलाई तीनै तहका सरकारको विश्वास जितेको संस्थाका रूपमा उल्लेख गरिन्। उनले ग्रामीण तथा विपन्न समुदायसम्म आँखा उपचार सेवा पुर्याउन सङ्घले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने बताइन्।
उनले आँखा उपचार सेवाको विस्तारका लागि सरकारको लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउँदै सङ्घले पनि आफ्नो संस्थागत क्षमता विस्तार गर्नुपर्ने धारणा राखिन्। उनका अनुसार गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारले सङ्घअन्तर्गत सञ्चालित अस्पताल, उपचार केन्द्र तथा बाह्य कार्यक्रमलाई करिब २५ लाख रुपैयाँ बराबरका सामग्री उपलब्ध गराएको थियो।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले स्थानीय तहले आँखा उपचारलाई प्राथमिकतामा राख्दै आएको जानकारी दिए। उनले आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले मोतियाबिन्दुलगायतका उपचार सेवामा विशेष ध्यान दिइएको बताए।
कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्रा.डा. चेतराज पन्तको सभापतित्व रहेको थियो भने महासचिव भरतबहादुर चन्दले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। वरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा.डा. देवनारायण साहले नेपालमा आँखा उपचार सेवाको पहुँच विस्तार भए पनि अन्धोपन नियन्त्रणका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताए।
अधिवेशनका अवसरमा सङ्घका संस्थापक महासचिव प्रा.डा. रामप्रसाद पोखरेललाई नेपालमा आँखा उपचार सेवाको संस्थागत विकास, विस्तार र उन्नयनमा पुर्याएको योगदानको कदर गर्दै ‘डा. नन्द श्रेष्ठ–अम्बिका श्रेष्ठ नेत्रज्योति सामाजिक सम्मान’ प्रदान गरिएको थियो।
यस्तै, नेत्रज्योति विशिष्ट सम्मान रेसुङ्गा नगरपालिका, गोरखा नगरपालिका, प्रा.डा. देवनारायण साह, प्रा.डा. रघुनन्दन व्याँजु, लायन्स क्लब इन्टरनेसनल मल्टिपल काउन्सिल ३२५, सञ्जय खेतान, कृष्णहरि सापकोटा तथा जापानी नागरिक प्रा.डा. ताकेसी नाइतो र डा. जुनसुके अकुरालाई प्रदान गरिएको थियो।
त्यसैगरी, लाइफटाइम अचिभमेन्ट अवार्डबाट श्यामकुमार पोखरेल, चक्रबहादुर सिंह, श्यामसुन्दर उदास, पदमनारायण चौधरी, प्रा.डा. दिलबहादुर क्षेत्री, वामदेव खनाल, नेत्रमणि लामिछाने र मायादेवी बज्राचार्य सम्मानित भएका छन्।
सङ्खुवासभा जिल्ला शाखालाई उत्कृष्ट जिल्ला शाखा, विराटनगर आँखा अस्पताललाई उत्कृष्ट आँखा अस्पताल, कालीगण्डकी आँखा उपचार केन्द्रलाई उत्कृष्ट आँखा उपचार केन्द्र तथा डा. पुष्पा गिरीलाई ‘नेत्रज्योति डा. निकोल ग्रासेट सम्मान’ प्रदान गरिएको छ।
यस्तै, विन्दुसागर राजभण्डारी, शैलेन्द्रमान सिंह, कुमार पृथु, शालिकराम गौतम, मीना राई तथा देवबहादुर बुढाक्षेत्रीलाई नेत्रज्योति सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा नेपालमा आँखा उपचार सेवाको उपलब्धि, चुनौती र आगामी रणनीतिबारे व्यापक छलफल गरिएको थियो।


