

काठमाडौं – प्रतिनिधिसभा सदस्य डा. ओजस्वी शेरचनले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) का आवसीय चिकित्सकहरूले दुई महिनादेखि तलब नपाएको र त्यसका कारण उनीहरू कठिन अवस्थामा काम गर्न बाध्य भएको बताएकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले तलब नपाएका कारण चिकित्सकहरू “भोकभोकै काम गर्न बाध्य” भएको गम्भीर अवस्था रहेको जानकारी गराइन् ।
‘दुई महिनादेखि तलब नआएर उनीहरू भोकभोकै काम गर्न बाध्य छन्,’ डा. शेरचनले भनिन्, ‘विशेषगरी न्याम्स र चिकित्सक शिक्षा आयोगलाई यसतर्फ तत्काल ध्यान दिन, उनीहरूलाई भत्ता उपलब्ध गराउन र काम गर्ने वातावरण सहज बनाउन आग्रह गर्छु ।’
उनले मेडिकल अफिसर, इन्टर्न चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूको कार्यघण्टा अत्यधिक लामो रहेको पनि उल्लेख गरिन् । लामो समय काम गर्दा उनीहरूको स्वास्थ्यमा नकारात्मक असर परिरहेको र सेवा गुणस्तर समेत प्रभावित भइरहेको उनको भनाइ थियो ।
त्यसैले चिकित्सकहरूको कार्यघण्टा व्यवस्थापन गर्दै उचित पारिश्रमिक र आवश्यक नीतिगत सुधार गर्न सरकारको ध्यानाकर्षण गराएको उनले बताइन् ।


