

धनगढी- कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ। सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि विश्वविद्यालय सञ्चालन तथा शैक्षिक कार्यक्रम विस्तार गर्न कुल २ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेसँगै विश्वविद्यालय सञ्चालनको प्रक्रिया थप अघि बढेको हो।
शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयको वार्षिक नीति तथा कार्यक्रम तथा बजेटमार्फत विश्वविद्यालयका लागि आवश्यक रकम सुनिश्चित गरिएको बताइएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य खेमराज कोइरालाका अनुसार विश्वविद्यालय सञ्चालनका लागि सरकारबाट १ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ तथा विश्वविद्यालय अनुदान आयोगमार्फत थप ८१ करोड ४९ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ।
विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि एमबिबिएसतर्फ ५० सिट, बीएससी नर्सिङतर्फ ३० सिट, बीएससी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी) मा २० सिट तथा बी अप्टोमेट्रीमा २० सिटमा अध्ययन–अध्यापन सञ्चालन गर्ने तयारी गरिरहेको छ।
चिकित्सा शिक्षाका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल तथा टीकापुर अस्पताललाई विश्वविद्यालयसँग आबद्ध गर्ने प्रक्रिया पनि अगाडि बढाइएको छ। यसले विद्यार्थीलाई आवश्यक क्लिनिकल अभ्यास तथा प्रयोगात्मक शिक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बजेट विनियोजनको घोषणासँगै स्थानीयवासी तथा सरोकारवालाले खुसी व्यक्त गरेका छन्। लामो समयदेखि गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय पूर्ण रूपमा सञ्चालन गर्न माग उठ्दै आएको थियो। पर्याप्त बजेट सुनिश्चित भएसँगै अब विश्वविद्यालयले अपेक्षित रूपमा शैक्षिक गतिविधि सुरु गर्ने विश्वास स्थानीय तहदेखि राजनीतिक नेतृत्वसम्मले व्यक्त गरेका छन्।
सांसद कोइरालाले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत सुनिश्चित भइसकेको बताउँदै अब कार्यान्वयन चरणलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्। उनका अनुसार अर्थ मन्त्रालयले आवश्यक परे थप बजेटसमेत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
गेटामा चिकित्सा शिक्षा सुरु हुने सम्भावना बलियो बन्दै जाँदा सुदूरपश्चिम प्रदेशमै उच्च चिकित्सा शिक्षाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। विश्वविद्यालय सञ्चालनमा आएपछि प्रदेशका विद्यार्थीले गुणस्तरीय चिकित्सा शिक्षा आफ्नै क्षेत्रमा प्राप्त गर्न सक्ने विश्वास गरिएको छ।


