

काठमाडौं – सरकारले मन्त्रालयहरूको संख्या घटाएर प्रशासनिक संरचनामा पुनर्गठन गरेसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अब एक जना मात्र सचिव रहने व्यवस्था लागू भएको छ।
सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ अनुसार मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ कायम गरिएपछि सचिवहरूको दरबन्दीसमेत पुनः समायोजन गरिएको हो। यसअनुसार यसअघि दुई सचिव रहने मन्त्रालयहरूमा अब एक जना मात्र सचिव राख्ने व्यवस्था गरिएको छ।
सोही व्यवस्थाअन्तर्गत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा लामो समयदेखि कायम रहेको स्वास्थ्य सेवातर्फ र प्रशासनतर्फ गरी दुई सचिव रहने संरचना पनि समाप्त भएको छ। नयाँ व्यवस्थापछि स्वास्थ्य सेवातर्फका सचिव डा. विकास देवकोटा मन्त्रालयका एकमात्र सचिवका रूपमा रहने भएका छन्।
प्रशासनतर्फका सचिव डिल्ली शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। उनको सोमबार मन्त्रालयबाट औपचारिक बिदाइसमेत गरिएको थियो।
नयाँ संरचना लागू भएसँगै मन्त्रालयको प्रशासनिक तथा प्राविधिक नेतृत्वको सम्पूर्ण जिम्मेवारी अब सचिव डा. देवकोटाले एक्लै सम्हाल्नेछन्। सरकारको यो निर्णयलाई मन्त्रालयहरूको संरचना चुस्त बनाउने र प्रशासनिक खर्च घटाउने प्रयासका रूपमा हेरिएको छ।


