

काठमाडौं – नेपालमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको पाइएको छ। राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अनुसार विगत एक वर्षमा मात्र बिरामीको संख्या १५.४ प्रतिशतले वृद्धि भएको हो।
केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वर्ष २०८१ मा २ हजार ६०० जना ब्रेन ट्युमरका बिरामीको उपचार भएको थियो भने वर्ष २०८२ मा यो संख्या बढेर करिब ३ हजार पुगेको छ।
सोमबार विश्व ब्रेन ट्युमर दिवसको अवसरमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा आयोजित कार्यक्रममा देशभरका २० भन्दा बढी न्यूरो केन्द्रहरूको तथ्याङ्क विश्लेषणका आधारमा उक्त विवरण सार्वजनिक गरिएको हो।
बढ्दो बिरामी संख्याका बीच वीर अस्पतालले यस वर्ष असार १६ गते (जुन महिनाको अन्त्य) सम्म ब्रेन ट्युमरको शल्यक्रिया शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ। यस निर्णयबाट आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपरेका विपन्न बिरामीलाई प्रत्यक्ष राहत पुग्ने अस्पतालले जनाएको छ।
केन्द्रका अनुसार उपचारका लागि आएका बिरामीमध्ये ५०.०७ प्रतिशत पुरुष र ४९.९३ प्रतिशत महिला रहेका छन्। उमेर समूहका आधारमा ३० देखि ५० वर्ष उमेर समूहका व्यक्तिहरूमा ब्रेन ट्युमर बढी देखिएको छ।
प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशका बिरामी सबैभन्दा बढी ३६.४ प्रतिशत रहेका छन्। तर कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने विशिष्टीकृत न्यूरो उपचार सेवामा पहुँच अझै कमजोर रहेको तथ्याङ्कले देखाएको छ।
केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन प्रा. डा. राजीव झाले नेपालमा ब्रेन ट्युमरका बिरामी वर्षेनी बढ्दै गएको उल्लेख गर्दै प्रारम्भिक अवस्थामै रोग पहिचान र उपचार भएमा जीवन बचाउन सकिने बताएका छन्।
यसै अवसरमा न्यूरो–अंकोलोजी सेवामा योगदान पुर्याएबापत डा. चारधाम बुढाथोकीलाई ‘च्याम्पियन अफ न्यूरोअंकोलोजी केयर–२०२६’ बाट सम्मान गरिएको छ।


