

काठमाडौं – क्यान्सर उपचारमा प्रयोग हुने जीवनरक्षक औषधिहरूको अभावबारे गुनासा बढिरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शुक्रबार औषधि व्यवस्था विभागको आकस्मिक अनुगमन गरेकी छन्।
बिजुलीबजारस्थित विभागमा पुगेर मन्त्री मेहताले विभिन्न शाखाको सेवा प्रवाह, औषधि आपूर्ति अवस्था तथा प्रशासनिक व्यवस्थाबारे जानकारी लिएकी थिइन्। उनले राष्ट्रिय औषधि प्रयोगशालाको समेत निरीक्षण गर्दै त्यहाँको कार्यप्रगतिबारे चासो व्यक्त गरिन्।
अनुगमनका क्रममा मन्त्रीले क्यान्सर उपचारमा आवश्यक औषधिको अभाव र त्यस सम्बन्धी गुनासोबारे विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीसँग विस्तृत जानकारी लिएकी थिइन्। मन्त्रीसँगै रहेका टोलीका सदस्यहरूले केही आयातकर्ताले मूल्य बढाउने उद्देश्यले कृत्रिम अभाव सिर्जना गरेको हुनसक्ने आशंका व्यक्त गर्दै विभागको निगरानीबारे प्रश्न उठाएका थिए।
जवाफमा निमित्त महानिर्देशक खड्गीले जीवनरक्षक औषधिको आपूर्ति सुनिश्चित गर्नु विभागको प्रमुख प्राथमिकता रहेको बताइन्। उनले वास्तविक अवस्था बुझ्नका लागि औषधि आयातकर्ताहरूलाई आवश्यक विवरण उपलब्ध गराउन दुई दिनको समय दिई सूचना जारी गरिएको जानकारी दिइन्।
खड्गीले विभागमा जनशक्तिको अभाव र बढ्दो कार्यभारका कारण सेवा प्रवाहमा केही चुनौती देखिएको स्वीकार गर्दै थप कर्मचारी व्यवस्थापनका लागि मन्त्रालयसँग पहल भइरहेको पनि बताइन्।
अनुगमनपछि प्रतिक्रिया दिँदै उनले मन्त्रीले औषधि अभाव र सेवासम्बन्धी गुनासोप्रति गम्भीर चासो देखाएको र समस्या समाधानका लागि सकारात्मक पहल गर्ने संकेत दिएको उल्लेख गरिन्।
उता नेपाल औषधि आयातकर्ता संघले क्यान्सर उपचारमा अत्यावश्यक मानिने कार्बोप्लाटिन र सिसप्लाटिनलगायतका औषधि पुनः अभावमा परेको जनाएको छ। संघले बिरामीको उपचार प्रभावित हुन नदिन जीवनरक्षक औषधिको आपूर्ति सहज बनाउन सरकारले शीघ्र र प्रभावकारी कदम चाल्नुपर्ने माग गरेको छ।


