

काठमाडौं- काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई थप बिरामीमैत्री तथा प्रविधिमैत्री बनाउन १ करोड ७० लाख रुपैयाँभन्दा बढी मूल्यका उपकरण तथा प्रविधि हस्तान्तरण गरेको छ।
अस्पतालमा आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका निर्देशक प्रा. डा. सुवास आचार्यलाई १ करोड ७० लाख १६ हजार ६७० रुपैयाँ बराबरका उपकरण तथा प्रविधि हस्तान्तरण गरिन्।
महानगरपालिकाका अनुसार अस्पतालमा शुल्क भुक्तानी, रिपोर्ट प्रिन्ट तथा घरबाटै सेवा लिन सकिने सुविधासहित १६ वटा इन्टरएक्टिभ किओस्क मेसिन उपलब्ध गराइएको छ। साथै, परीक्षण, रिपोर्ट तथा उपचार विवरण एकै स्थानबाट हेर्न सकिने ६५ वटा ‘अल इन वन’ डेस्कटप कम्प्युटर पनि प्रदान गरिएको छ। सेवा प्रवाहलाई प्रभावकारी बनाउन सर्भर र र्याम क्षमता समेत विस्तार गरिएको छ।
कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामी र उनका आफन्तले भोग्दै आएको लामो लाइनको समस्या प्रविधिको प्रयोगमार्फत समाधान गर्न सकिने बताइन्।
उनले भनिन्, “बिरामी र उनका आफन्त पहिले नै पीडामा हुन्छन्। उपचारका क्रममा टिकट काट्न र शुल्क तिर्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न प्रविधिमार्फत सहज सेवा दिन सकिन्छ।”
डंगोलले स्थानीय सरकारका रूपमा महानगर नागरिक सेवाप्रति संवेदनशील रहेको उल्लेख गर्दै आगामी दिनमा अस्पतालसँग सहकार्य गरी टेलिसेवा सञ्चालन गर्ने सम्भावनासमेत रहेको बताइन्।
अस्पतालका निर्देशक प्रा. डा. सुवास आचार्यले महानगरको सहयोगले सेवा व्यवस्थापनमा उल्लेखनीय सुधार आएको बताए। उनले पहिलो चरणको सहयोगपछि सेवामा प्रत्यक्ष सुधार देखिएको उल्लेख गर्दै दोस्रो चरणपछि क्यान्सर उपचार सेवासमेत ‘पेपरलेस’ र ‘फेसलेस’ प्रणालीमा लैजान सकिने बताए।
कार्यक्रममा उपनिर्देशक प्रा. डा. पवनराज चालिसे र प्रा. डा. गोपाल सेढाइँले सहयोगले सेवा प्रवाह सहज भएको उल्लेख गर्दै निरन्तर सहकार्यको अपेक्षा गरे।
वडा नम्बर ३ का अध्यक्ष प्रेम थापाले अस्पतालको पश्चिमतर्फबाट पहुँच मार्ग खोल्न वडा कार्यालयले सहयोग गरेको जानकारी दिए।
महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले महानगरका स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत प्रदान गरिने विशेषज्ञ सेवाको विस्तारका लागि अस्पतालसँग थप सहकार्य गर्ने योजना रहेको बताए।


