

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्, अस्पताल तथा स्वास्थ्य सम्बन्धी निकायहरूमा रिक्त पदाधिकारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।
मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिललगायत निकायमा रिक्त पदाधिकारीका लागि योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको हो।
त्यस्तै बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका पदाधिकारी पदहरू तथा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष, सदस्य र कार्यकारी निर्देशक पदका लागि पनि आवेदन आह्वान गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सम्बन्धित ऐन तथा नियमावलीमा तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सिंहदरबार, काठमाडौँमा आवेदन पेश गर्नुपर्नेछ।
मन्त्रालयले आवश्यक कागजातहरूको विवरण आफ्नो आधिकारिक वेबसाइटमा उपलब्ध रहेको पनि जनाएको छ।



