

धनगढी- कैलालीस्थित गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबीचको विवाद चर्किँदै गएको छ। लामो समयदेखि उठाइँदै आएका मागहरू सम्बोधन नभएको भन्दै कर्मचारी आन्दोलित बनेका छन् भने विवाद राष्ट्रिय मानव अधिकार आयोगसम्म पुगेको छ।
नेत्रज्योति संघ नेपालअन्तर्गत सञ्चालित उक्त अस्पतालका कर्मचारीले गत वर्षको बजेटमार्फत वृद्धि गरिएको महँगी भत्ता तत्काल उपलब्ध गराउन, नेपाल सरकारले लागू गरेको आइतबारको सार्वजनिक बिदा अस्पतालमा पनि कार्यान्वयन गर्न वा त्यसबापत सट्टा बिदा अथवा अतिरिक्त भत्ता दिन तथा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरी आवश्यक जनशक्ति, दरबन्दी र सेवा–सुविधा सुनिश्चित गर्नुपर्ने माग राख्दै आएका छन्।
मागप्रति प्रशासनले चासो नदेखाएको आरोप लगाउँदै कर्मचारीहरूले गत जेठ ४ गते अस्पताल प्रमुखको कार्यकक्ष र प्रशासन शाखामा तालाबन्दी गरेका थिए। तालाबन्दीका क्रममा स्वास्थ्य सेवा भने प्रभावित नभएको कर्मचारीहरूको भनाइ छ।
अस्पतालका एक कर्मचारीका अनुसार तलब वृद्धि, बढुवा, वृत्ति विकास तथा सेवा–सुविधासम्बन्धी विषयमा कर्मचारीले वर्षौंदेखि संघर्ष गर्दै आएका छन्। उनका अनुसार अहिले उठाइएका अधिकांश माग नयाँ नभई विगतदेखि नै दोहोरिँदै आएका समस्या हुन्।
कर्मचारी पक्षले केन्द्रबाट महँगी भत्ता उपलब्ध गराउने निर्णय भइसके पनि अस्पताल प्रशासनले कार्यान्वयनमा ढिलाइ गरेको आरोप लगाएको छ। साथै माग सम्बोधन गर्नुको सट्टा आन्दोलनमा सहभागी कर्मचारीलाई पटक–पटक स्पष्टीकरण सोध्ने, मानसिक दबाब दिने र त्रासको वातावरण सिर्जना गर्ने काम भएको दाबी पनि उनीहरूको छ।
यही विषयलाई लिएर राष्ट्रिय मानव अधिकार आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी दर्ता गरिएको छ। कर्मचारीहरूले समस्या समाधानको सट्टा कारबाहीको डर देखाउने, जिल्ला प्रशासन र प्रहरीसम्म विषय पुर्याएर दबाब सिर्जना गर्ने प्रयास भएको आरोप लगाएका छन्।
उजुरीपछि राष्ट्रिय मानव अधिकार आयोगले अस्पताल प्रशासनसँग घटनाबारे जानकारी माग्दै पत्राचार गरेको थियो। आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयका निमित्त प्रमुख मानबहादुर कार्कीले कर्मचारीको उजुरीका आधारमा वास्तविक अवस्था बुझ्न अस्पतालसँग विवरण मागिएको र त्यसको जवाफ प्राप्त भइसकेको जानकारी दिए।
कार्कीले यो विषय मानव अधिकार उल्लंघनभन्दा बढी कर्मचारी र प्रशासनबीचको व्यवस्थापकीय तथा श्रम सम्बन्धी विवादको प्रकृतिको रहेको बताए।
यता अस्पतालका प्रमुख चिकित्सा निर्देशक डा. सुरेशराज पन्तले भने कर्मचारीको तलब तथा भत्तासम्बन्धी माग केन्द्रबाट पत्र आएपछि सम्बोधन भइसकेको दाबी गरेका छन्। उनका अनुसार हाल अस्पतालमा कुनै विवाद छैन।
कर्मचारीलाई स्पष्टीकरण सोधिएको विषयमा उनले अस्पतालको नियम तथा कार्यविधिअनुसार नै प्रक्रिया अघि बढाइएको बताए। तर कर्मचारी पक्षले भने आफ्ना माग अझै पूर्ण रूपमा सम्बोधन नभएको जनाउँदै आन्दोलन जारी रहने चेतावनी दिएको छ।
विवादबारे स्थानीयवासी र संस्थाका आजीवन सदस्यहरूले समेत चासो देखाएका छन्। मंगलबार केही स्थानीयवासी अस्पताल पुगेर कर्मचारी र प्रशासन दुवै पक्षसँग छलफल गरेका थिए। सो क्रममा केही समय अस्पताल परिसरमा तनावको अवस्था समेत सिर्जना भएको थियो।
स्थानीय भरत खड्काले दुवै पक्षसँगको छलफलपछि अस्पतालभित्र माथिल्लो तहको व्यवस्थापन र कर्मचारीबीच लामो समयदेखि संवाद तथा समन्वयको अभाव रहेको देखिएको बताए। उनले व्यवस्थापन समिति तथा नेत्रज्योति संघको जिल्ला समितिले सक्रिय भूमिका खेल्दै विवाद समाधानका लागि पहल गर्नुपर्ने धारणा राखे।



