

काठमाडौँ- नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको एमबिबिएस र बिडिएसतर्फको लाइसेन्सिङ परीक्षाको देशगत नतिजाको पूर्ण विवरण सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार नेपालमै अध्ययन गरेका चिकित्सकहरूको उत्तीर्ण दर र संख्या दुवै सबैभन्दा उच्च देखिएको छ भने विदेशका विभिन्न ११ वटा देशबाट अध्ययन पूरा गरी आएका परीक्षार्थीहरूको नतिजामा व्यापक उतारचढाव देखिएको छ।
काउन्सिलका अनुसार जेठ १२ देखि १५ गतेसम्म लिइएको परीक्षामा एमबिबिएस र बिडिएसतर्फ कुल २,२७१ जना परीक्षार्थी सहभागी भएका थिए, जसमा समग्रमा १,५१५ जना उत्तीर्ण भएका छन्।
एमबिबिएसतर्फ कुल १,८३७ जना परीक्षार्थी सहभागी भएकोमा १,१६२ जना (६३.५० प्रतिशत) उत्तीर्ण भएका छन्। यस विधामा नेपालका कलेजबाट पढेका परीक्षार्थीहरूको नतिजा सबैभन्दा उत्कृष्ट छ। नेपालबाट सर्वाधिक १,२५४ जना परीक्षामा सामेल भएकोमा ९६३ जना उत्तीर्ण र २८७ जना अनुत्तीर्ण भएका छन्, जुन ७६.७९ प्रतिशत उत्तीर्ण दर हो।
त्यस्तै, दोस्रो धेरै संख्यामा परीक्षार्थी रहेको बंगलादेशबाट ३६७ जनामध्ये १५१ जना (४१.१४ प्रतिशत) उत्तीर्ण भएका छन्।
यसको ठीक विपरीत, चीनका विभिन्न कलेजबाट एमबिबिएस पढेर आएका परीक्षार्थीहरूको उत्तीर्ण दर भने निकै कमजोर पाइएको छ। चीनबाट पढेका कुल १३३ जना परीक्षामा सामेल भएकोमा जम्मा २० जना (१५.०४ प्रतिशत) मात्र उत्तीर्ण भएका छन् भने १०९ जना परीक्षार्थी अनुत्तीर्ण (फेल) भएका छन्।
अन्य देशहरूको हकमा, फिलिपिन्सबाट पढेका ४२ जनामध्ये १२ जना (२८.५७ प्रतिशत) र भारतबाट पढेका २६ जनामध्ये ११ जना (४२.३१ प्रतिशत) उत्तीर्ण भएका छन्। पाकिस्तानबाट परीक्षा दिएका ६ जनामध्ये ४ जना (६६.६७ प्रतिशत) उत्तीर्ण हुँदा साउदी अरेबियाबाट सहभागी भएका एक मात्र परीक्षार्थी शतप्रतिशत नतिजाका साथ उत्तीर्ण हुन सफल भए।
यस परीक्षामा इजिप्ट (२ जना), रसियन फेडेरेसन (३ जना), किर्गिस्तान (२ जना) र युक्रेन (१ जना) बाट सहभागी भएका कुनै पनि परीक्षार्थी उत्तीर्ण हुन सकेनन् र ती देशको नतिजा शून्य रह्यो।
डेन्टल (बिडिएस) तर्फ पनि नेपालकै नतिजा राम्राे
बिडिएसतर्फ कुल ४३४ जना परीक्षार्थी परीक्षामा सहभागी भएकोमा ३५३ जना (८१.५२ प्रतिशत) उत्तीर्ण हुन सफल भएका छन्। यस विधामा जम्मा ४ वटा देशका कलेजबाट पढेका विद्यार्थीहरू सहभागी थिए, जसमा पनि नेपालकै वर्चस्व देखिएको छ।
नेपालका कलेजबाट पढेका ४०० जना परीक्षार्थीमध्ये ३४३ जना (८५.७५ प्रतिशत) उत्तीर्ण भएका छन् भने ५७ जना अनुत्तीर्ण भए। त्यस्तै बंगलादेशबाट पढेका १६ मध्ये ९ जना (५६.२५ प्रतिशत) उत्तीर्ण हुँदा भारतबाट पढेर परीक्षा दिएका १७ जनामध्ये जम्मा १ जना (५.८८ प्रतिशत) मात्र उत्तीर्ण हुन सकेका छन्। फिलिपिन्सबाट सहभागी १ जना परीक्षार्थी भने अनुत्तीर्ण भएका छन्।



