

जाजरकोट – जाजरकोटको भेरी नगरपालिका–११ कट्टीगाउँ क्षेत्रमा दादुराको प्रकोप फैलिन थालेपछि त्यहाँका विद्यालय पाँच दिनका लागि बन्द गरिएका छन्।
भेरी नगरपालिका–११ स्थित शिवशंकर माध्यमिक विद्यालय, जगतिपुरमा अध्ययनरत दर्जनौँ विद्यार्थीमा दादुरासँग मिल्दोजुल्दो संक्रमण देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।
भेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद विष्टले जारी गरेको सूचनाअनुसार वडा नम्बर ११ भित्र सञ्चालनमा रहेका सबै विद्यालय पाँच दिनका लागि बन्द रहनेछन्।
प्रकोप प्रभावित कट्टीगाउँबाट सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएका नमुनाको परीक्षण गर्दा चार जनामा दादुरा संक्रमण पुष्टि भएको जनाइएको छ।
दादुरा पुष्टि भएसँगै संक्रमण फैलिन नदिन र बालबालिकाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका सबै बालबालिकालाई खोप लगाउने अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। खोप कार्यक्रम सम्पन्न नभएसम्म विद्यालय बन्द राखिने सूचनामा उल्लेख गरिएको छ।
नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार उक्त बिदा स्थानीय बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्न तथा सोको जानकारी नगरपालिकालाई गराउनसमेत निर्देशन दिएको छ।
स्थानीय तहले दादुराको थप संक्रमण रोक्न निगरानी, स्वास्थ्य परीक्षण र खोप अभियानलाई तीव्र बनाएको जनाएको छ।


