

काठमाडौं – विश्वका विभिन्न देशमा हान्टा भाइरस सङ्क्रमण देखिन थालेपछि नेपाल सरकारले पनि सतर्कता बढाएको छ। हालसम्म नेपालमा हान्टा भाइरस सङ्क्रमण पुष्टि नभए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै रोग निगरानी, स्वास्थ्य सुरक्षा तथा पूर्वतयारीका गतिविधि तीव्र पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार अन्तर्राष्ट्रिय स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै नेपालले आवश्यक तयारी सुरु गरिसकेको छ। अन्तर्राष्ट्रिय विमानस्थल तथा प्रमुख सीमानाकामा निगरानीलाई निरन्तरता दिइएको उनले बताए।
“नेपालमा हालसम्म हान्टा भाइरसको सङ्क्रमण पुष्टि भएको छैन। तर, विश्वका केही देशमा सङ्क्रमण देखिएकाले स्वास्थ्य सुरक्षा सतर्कता बढाएका छौँ,” सचिव देवकोटाले भने। आवश्यक परे थप जनशक्ति परिचालन गर्नुका साथै स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्ने र रोग निगरानी प्रणालीलाई अझ प्रभावकारी बनाउने योजना रहेको उनले बताए।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा तत्काल जोखिम कम देखिए पनि अन्तर्राष्ट्रिय आवतजावतका कारण सम्भावनालाई पूर्ण रूपमा नकार्न नसकिने बताए। उनका अनुसार सङ्क्रमण पुष्टि भएका मुलुकबाट नेपाल आउने यात्रुको अवस्थाबारे विशेष निगरानी राखिएको छ। कङ्गोलगायत हान्टा भाइरस देखिएका देशबाट आउने यात्रुहरूलाई निगरानीमा राख्ने व्यवस्था गरिएको उनले जानकारी दिए।
हान्टा भाइरस के हो ?
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हान्टा भाइरस मुसाबाट मानिसमा सर्ने दुर्लभ तर गम्भीर भाइरसजन्य सङ्क्रमण हो। यो भाइरस समूहका विभिन्न प्रकारमध्ये केहीले मानिसमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छन्।
सङ्क्रमित मुसाको पिसाब, दिसा, र्याल वा ती पदार्थले दूषित बनाएको धुलो तथा वातावरणको सम्पर्कमा आउँदा मानिसमा सङ्क्रमण हुन सक्छ। गोदाम, पुराना घर, भण्डारण कक्ष वा फोहोर स्थान सफा गर्ने क्रममा उड्ने धुलोमार्फत पनि भाइरस शरीरमा प्रवेश गर्न सक्ने चिकित्सकहरू बताउँछन्।
डा. पुनका अनुसार केही प्रकारका हान्टा भाइरस मानिसबाट मानिसमा पनि सर्न सक्ने अध्ययनहरूले देखाए पनि यस्तो अवस्था दुर्लभ मानिन्छ।
के–कस्ता हुन्छन् लक्षण ?
हान्टा भाइरस सङ्क्रमणका प्रारम्भिक लक्षण सामान्य भाइरल रोगसँग मिल्दोजुल्दो हुन सक्छन्। ज्वरो आउने, अत्यधिक थकान महसुस हुने, शरीर गल्ने, मांसपेशी दुख्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पखाला लाग्ने तथा पेट दुख्ने जस्ता लक्षण देखिन सक्छन्।
रोग जटिल बन्दै जाँदा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, छाती कस्सिएको महसुस हुने, फोक्सोमा पानी जम्ने तथा मिर्गौलाको कार्यक्षमतामा असर पर्ने अवस्था आउन सक्ने डा. पुनले बताए। समयमै उपचार नपाए सङ्क्रमण गम्भीर बन्न सक्ने भएकाले यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न उनले आग्रह गरे।
कसरी बच्ने ?
स्वास्थ्य विज्ञहरूले मुसाको अत्यधिक आवतजावत हुने स्थान सफा गर्दा मास्क र पन्जा प्रयोग गर्न, धुलो तथा फोहोर व्यवस्थापन गर्दा सावधानी अपनाउन, खाद्यान्न सुरक्षित रूपमा भण्डारण गर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन सुझाव दिएका छन्।



