
काठमाडौं- सरकारले धुलिखेल अस्पताल र डा. भगवान कोइराला नेतृत्वको किओच बाल अस्पताललाई बजेट विनियोजन गर्ने घोषणा गरेको छ।
शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यी दुवै स्वास्थ्य संस्थालाई गुणस्तरीय उपचार सेवा विस्तार, विशेषज्ञ सेवा सुदृढीकरण तथा पूर्वाधार विकासका लागि बजेट उपलब्ध गराइने बताएका हुन्।
सरकारले सामुदायिक तथा विशिष्टीकृत स्वास्थ्य संस्थाहरूलाई सुदृढ बनाउँदै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर दुवै वृद्धि गर्ने उद्देश्य राखेको जनाएको छ।
यसैबीच, सरकारले तिलगंगा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा लाग्दै आएको कर छुट दिने घोषणा पनि गरेको छ।
अर्थमन्त्री वाग्लेले उक्त कर छुटले प्रतिष्ठानको उत्पादन क्षमता विस्तार हुने र स्वदेशमै सस्तो तथा गुणस्तरीय आँखासम्बन्धी उपचार सामग्री उत्पादन तथा आपूर्तिमा सहजता आउने बताएका छन्।


