
काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रका लागि १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले स्वास्थ्य सेवा विस्तार, सामाजिक सुरक्षा तथा स्वास्थ्य पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
बजेटअन्तर्गत स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ र स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका लागि १३ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
सरकारले देशभर निर्माणाधीन ३३६ आधारभूत अस्पताललाई आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। निर्माण सुरु नभएका अस्पतालहरूको वैज्ञानिक नक्सांकन तथा पूर्वतयारी कार्य अघि बढाइने र यसका लागि ५ अर्ब ९० करोड रुपैयाँ छुट्याइएको छ।
स्वास्थ्य सेवा पहुँच विस्तारका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशमा टेलिमेडिसिन सेवा विस्तार गरिने भएको छ। साथै, संघीय स्तरमा विशिष्टीकृत अस्पतालअन्तर्गत जलन (बर्न) उपचार केन्द्र स्थापना गरिने बजेटमा उल्लेख छ।
यसैगरी, मधेश प्रदेश अस्पतालमा मिर्गौला उपचार सेवा र ट्रमा सेन्टर सञ्चालन गर्ने योजना पनि समेटिएको छ।
सरकारले बालबालिकामा हुने क्यान्सर रोगको निःशुल्क उपचार गर्ने व्यवस्था पनि लागू गर्ने घोषणा गरेको छ, जसलाई बाल स्वास्थ्य सुरक्षातर्फको महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरिएको छ।


