

काठमाडौं – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन (ओएनएम) स्वीकृत गरेको छ। मन्त्रालयले संघीय पुलअन्तर्गत कुल १ हजार ८०८ दरबन्दी स्वीकृत गरी स्वास्थ्य मन्त्रालयमा पठाएको जनाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हाल कायम रहेको ८३१ दरबन्दीमा ९७७ नयाँ दरबन्दी थपिएपछि कुल स्वीकृत दरबन्दी संख्या १ हजार ८०८ पुगेको हो। स्वीकृत दरबन्दीका आधारमा अब चरणबद्ध रूपमा लोक सेवा आयोगमार्फत खुला पदपूर्ति प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयका अनुसार नयाँ संगठनात्मक संरचनामा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको दरबन्दी उल्लेखनीय रूपमा वृद्धि गरिएको छ। संघीय तहमा विशेषज्ञ स्वास्थ्य सेवा थप सुदृढ बनाउने तथा नागरिकको सेवा पहुँच विस्तार गर्ने उद्देश्यले नयाँ दरबन्दी स्वीकृत गरिएको सचिवालयको भनाइ छ।
मन्त्रालयले स्वीकृत संरचना ‘संघीय पुल दरबन्दी’को ढाँचा मात्र भएको स्पष्ट पारेको छ। सचिवालयका अनुसार सिएमए, अहेब, अनमीलगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीहरूको दरबन्दी भने प्रदेश र स्थानीय तहमा निकट भविष्यमै ठूलो संख्यामा खुला गरिने तयारी गरिएको छ।
लामो समयदेखि स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभावका बीच नयाँ ओएनएम स्वीकृत भएसँगै सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। विशेषज्ञ चिकित्सक तथा प्राविधिक जनशक्तिको संख्या बढ्दा संघीय अस्पताल र स्वास्थ्य संस्थाहरूमा उपचार सेवा विस्तार हुनुका साथै सेवाको गुणस्तर सुधारमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास मन्त्रालयको छ।
यसअघि स्वास्थ्य मन्त्रालयले जनशक्ति अभावका कारण विभिन्न स्वास्थ्य सेवा प्रभावित हुँदै आएको तथा ग्रामीण र दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभाव प्रमुख चुनौतीका रूपमा रहेको बताउँदै आएको थियो। नयाँ दरबन्दी स्वीकृतिपछि ती समस्या क्रमशः समाधानतर्फ जाने अपेक्षा गरिएको छ।


