

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले स्वास्थ्य बीमा सेवा संकुचन गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।
निजी अस्पतालमार्फत सञ्चालन हुँदै आएको स्वास्थ्य बीमा सेवा स्थगित गर्ने निर्णयप्रति प्रतिक्रिया दिँदै लिङ्देनले यस्तो निर्णय दुःखद भएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै कुनै पनि बहानामा सर्वसाधारणले पाइरहेको स्वास्थ्य बीमाको सुविधा कटौती गर्न नहुने उल्लेख गरेका छन् ।
‘यो वा त्यो बहानामा जनताले प्राप्त गरिरहेको स्वास्थ्य बीमा सुविधालाई संकुचन वा स्थगन गर्ने निर्णय दुःखद हो,’ लिङ्देनले भनेका छन् ।
उनले अन्य क्षेत्रको खर्च कटौती गरेर भए पनि स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेका छन् । साथै, स्वास्थ्य बीमा सुविधाबाट नागरिकलाई वञ्चित नगरी कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाउनुपर्नेमा जोड दिएका छन् ।
स्वास्थ्य बीमा बोर्डले आर्थिक संकट देखाउँदै जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी अस्पतालबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमा सेवा स्थगित गर्ने निर्णय गरेको छ ।
बोर्डका अनुसार आकस्मिक सेवाबाहेक अन्य बीमा सेवा निजी स्वास्थ्य संस्थामा बन्द हुनेछन् । यसबाट देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सयौँ निजी अस्पताल तथा मेडिकल कलेजबाट सेवा लिँदै आएका बीमित नागरिक प्रभावित हुने भएका छन् ।
स्वास्थ्य बीमा कार्यक्रम पछिल्लो समय बक्यौता भुक्तानी, आर्थिक अव्यवस्था र प्रशासनिक कमजोरीका कारण संकटमा परेको भन्दै आलोचना हुँदै आएको छ ।


