

काठमाडौं- सरकारले निजी अस्पतालमार्फत प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गरेको छ।
स्वास्थ्य बीमा कार्यक्रम आर्थिक संकटमा परेको जनाउँदै स्वास्थ्य बीमा बोर्डले आकस्मिक सेवाबाहेकका सबै बीमा सेवा निजी अस्पतालमा स्थगित गर्ने निर्णय गरेको हो।
बोर्डले बिहीबार जारी गरेको सूचनाअनुसार जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट सञ्चालन हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द रहनेछन्। उक्त निर्णय जेठ ११ गते बसेको बोर्ड बैठकले गरेको जनाएको छ।
यस निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सयौँ निजी अस्पताल र मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएका ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने भएका छन्। बोर्डले भने आकस्मिक सेवा भने निरन्तर सञ्चालन हुने स्पष्ट पारेको छ।
सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम पछिल्लो समय आर्थिक अव्यवस्था, बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण संकटमा परेको भन्दै आलोचना हुँदै आएको छ।
स्रोतका अनुसार निजी अस्पताललाई वर्षौंदेखि दिनुपर्ने अर्बौँ रुपैयाँ भुक्तानी रोकिएपछि बोर्ड सेवा कटौतीको निर्णय गर्न बाध्य भएको हो।
स्वास्थ्य बीमा बोर्डका अनुसार हाल सेवाप्रदायक संस्थालाई करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ। स्वास्थ्य क्षेत्रका जानकारहरूले सरकारको कमजोर वित्तीय व्यवस्थापन, सेवा गुणस्तर र दीर्घकालीन योजनाको अभावले स्वास्थ्य बीमा कार्यक्रमको दिगोपनमै प्रश्न उठेको बताएका छन्।
निजी अस्पतालहरूले लामो समयदेखि बीमावापतको रकम नपाएको, दाबी भुक्तानी अड्किएको तथा प्रक्रियागत झन्झट बढेको गुनासो गर्दै आएका थिए। कतिपय अस्पतालले यसअघि नै बीमाका बिरामी नलिने चेतावनी दिएका थिए।
अब बोर्ड आफैँले सेवा स्थगन गर्ने निर्णय गरेपछि स्वास्थ्य बीमा कार्यक्रम व्यवहारतः संकुचनतर्फ गएको टिप्पणी हुन थालेको छ।



