

चितवन – समुदायस्तरमै स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै नागरिकलाई रोगमुक्त र सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले भरतपुर महानगरपालिका–१० मा ‘निरोगी टोल अभियान–२०८३’ सुरु गरिएको छ । ‘म स्वस्थ, मेरो समुदाय स्वस्थ’ भन्ने मूल नारासहित अन्तर टोल फिजियोथेरापी प्रशिक्षण तथा उपचार शिविर सञ्चालन गर्ने लक्ष्यका साथ बुधबार अभियानको औपचारिक शुभारम्भ गरिएको हो ।
भरतपुर–१० अन्तर्गतका शान्ति इन्द्रेणी टोल विकास संस्था र ऊँ शान्ति टोल विकास संस्थाको संयुक्त पहलमा सुरु गरिएको अभियानको पहिलो कार्यक्रम दोभान पुस्तकालयको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
श्री पुष्पाञ्जली अस्पताल को प्राविधिक सहयोगमा सञ्चालन गरिएको अभियानको संयोजन वडा सदस्य रेशमराज थापा ‘ऋषि’ले गरेका हुन् । अभियानको उद्घाटन बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री उत्तम जोशी ले गरेका थिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री जोशीले पछिल्लो समय समुदायमा बढ्दै गइरहेका नसर्ने रोग, शारीरिक निष्क्रियता तथा गलत जीवनशैलीका कारण उत्पन्न स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न यस्ता स्थानीय अभियान अत्यन्त प्रभावकारी हुने बताए । उनले स्वस्थ नागरिक नै समृद्ध समाजको आधार भएको उल्लेख गर्दै समुदायस्तरबाट सुरु भएका यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।
त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित श्री पुष्पाञ्जली अस्पताल का वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी ले बदलिँदो जीवनशैली, लामो समय बसिरहने बानी तथा शारीरिक श्रमको कमीका कारण ढाड, कम्मर, गर्धन तथा जोर्नीसम्बन्धी समस्या बढ्दै गएको बताए । उनले समयमै फिजियोथेरापी, नियमित व्यायाम र सही शारीरिक आसन अपनाउन सके धेरै समस्या औषधिबिनै नियन्त्रण गर्न सकिने उल्लेख गरे । उनले भरतपुरका अन्य टोल तथा समुदायमा पनि यस्ता कार्यक्रम विस्तार भए अस्पतालले आवश्यक प्राविधिक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
शिविरमा फिजियोथेरापिस्ट मदन घिमिरे ले सहभागीहरूलाई व्यवहारिक प्रशिक्षण प्रदान गरेका थिए । उनले ढाड तथा कम्मर दुखाइ, गर्धन दुखाइ, हातखुट्टा झमझम हुने, नशा च्यापिने लगायतका समस्यामा घरमै गर्न सकिने सरल तथा प्रभावकारी फिजियोथेरापी अभ्यासहरूको प्रदर्शन गरेका थिए । साथै, दैनिक कामकाजका क्रममा अपनाउनुपर्ने सही बसाइ, उठाइ तथा हिँडडुलसम्बन्धी अभ्यासबारे समेत जानकारी गराइएको थियो ।
कार्यक्रम संयोजक रेशमराज थापा ‘ऋषि’ले सामान्य स्वास्थ्य समस्यालाई बेवास्ता गर्दा दीर्घकालीन समस्या निम्तिने भएकाले समुदायमै स्वास्थ्य शिक्षा र सचेतना पुर्याउने उद्देश्यले अभियान सुरु गरिएको बताए । उनले आगामी दिनमा अभियानलाई अन्य टोलहरूमा समेत विस्तार गर्दै नियमित स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
शान्ति इन्द्रेणी टोल विकास संस्थाका अध्यक्ष विनोदकान्त ढकाल र ऊँ शान्ति टोल विकास संस्थाका अध्यक्ष किसान पराजुलीको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीयवासीहरूको बाक्लो उपस्थिति रहेको थियो । सहभागीहरूले विशेषज्ञबाट प्रत्यक्ष रूपमा स्वास्थ्य परामर्श तथा फिजियोथेरापीसम्बन्धी सीप सिक्न पाएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रम समुदायका लागि अत्यन्त उपयोगी भएको बताएका छन् ।


