

बझाङ- बझाङमा अवैध रूपमा सञ्चालन भइरहेका ६ वटा क्लिनिक, मेडिकल तथा स्वास्थ्य संस्था सिल गरिएको छ। औषधी व्यवस्था विभागमा दर्ता नगरी सञ्चालन गरिएका तथा मापदण्डविपरीत सेवा दिइरहेका स्वास्थ्य संस्थामाथि जिल्ला प्रशासन कार्यालय बझाङ र औषधी व्यवस्था विभागको संयुक्त टोलीले कारबाही गरेको हो।
नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित औषधी तथा स्वास्थ्य सेवामा भइरहेको अनियमितता नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय, औषधी व्यवस्था विभाग, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुंगल नगरपालिका र जयपृथ्वी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा स्थलगत अनुगमन गरेको थियो।
अनुगमनका क्रममा औषधी व्यवस्था विभागमा दर्ता नगरी सञ्चालन गरिएका, म्याद नाघेका औषधी बिक्री वितरण गरिरहेका तथा मेडिकलमा बिक्री गर्न नमिल्ने औषधी राखिएको भेटिएको औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी निरीक्षक दिनेशराज न्यौपानेले जानकारी दिए।
बुधबार र बिहीबार गरिएको अनुगमनमा सीएमए संघमा मात्रै दर्ता भएर औषधी व्यवस्था विभागमा दर्ता नगरी सञ्चालन गरिएका स्वास्थ्य संस्थामाथि कारबाही गरिएको हो।
सिल गरिएका संस्थामा बुंगल नगरपालिका–४ बिजगडास्थित सुलभ क्लिनिक, बुंगल नगरपालिका–६ खौलाधारस्थित गरिमा जनसेवा क्लिनिक, जयपृथ्वी नगरपालिका–१० चैनपुरमा सञ्चालित ईशानी अस्पताल, चैन मेडिकल, शुसिल हेल्थ क्लिनिक र अमिशा अस्पताल रहेका छन्।
अनुगमनका क्रममा केही मेडिकल तथा फार्मेसीमा चिकित्सकको सिफारिसबिना बिक्री गर्न नमिल्ने औषधीसमेत भेटिएको प्रशासनले जनाएको छ। सम्बन्धित सञ्चालकलाई सचेत गराउँदै थप बयानका लागि औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जमा उपस्थित हुन निर्देशन दिइएको छ।
प्रशासनका अनुसार बुंगल नगरपालिकाका तीन र जयपृथ्वी नगरपालिकाका आठ गरी कुल ११ वटा स्वास्थ्य संस्थाको निरीक्षण गरिएको थियो। तीमध्ये आवश्यक अनुमति तथा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेका ६ वटा संस्थालाई सिल गरिएको हो।
जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य संस्था सञ्चालन गर्दा सम्बन्धित निकायमा अनिवार्य दर्ता तथा नवीकरण गर्न, दक्ष जनशक्ति राख्न तथा कानुनअनुसार मात्रै औषधी बिक्री वितरण गर्न आग्रह गरेको छ।
पछिल्लो समय अनुमति नलिई स्वास्थ्य संस्था सञ्चालन गर्ने प्रवृत्ति बढेपछि अनुगमनलाई तीव्र बनाइएको प्रशासनको भनाइ छ।


